मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस सभापति थापाको आह्वान : कुनै अलमलमा नपरौं, अधिवेशनमा उत्साहका साथ सहभागी बनौं

कांग्रेस सभापति थापाको आह्वान : कुनै अलमलमा नपरौं, अधिवेशनमा उत्साहका साथ सहभागी बनौं

images
२०८३ भाद्र ३० गते, मंगलवार
२०८३ भाद्र ३० गते, मंगलवार
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनका लागि हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन सबै पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

    images

    मंगलबार साँझ सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्दै उनले असोज १६ देखि १९ सम्म काठमाडौंमा सम्पन्न हुने कांग्रेसको १५ औं महाधिवेशनका लागि २०८३ असोज ३ र ४ गते वडा तहबाट अधिवेशन सुरु हुने उल्लेख गरेका छन्। 

    images

    `असोज ३ र ४ गते वडा तहबाट सुरु हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्दछु।´ सभापति थापाले भनेका छन्।

    सभापति थापाले नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानून बमोजिम महाधिवेशन हुन लागेको पनि प्रष्ट पारेका छन्।

    `महाधिवेशनको पूर्व सन्ध्यामा देशभित्र र देशबाहिर बिभिन्न तहमा रहेर पार्टीको वृहत्तर हितका लागि निरन्तर चिन्ता चासो व्यक्त गर्ने, संवाद, सहमतिका लागि सत्प्रयास गर्ने र अधिवेशन प्रक्रियामा सक्रिय रहने सबै सदस्य, समर्थक शुभेच्छुक साथीहरूप्रति आभार प्रकट गर्दछु।´ उनले आफ्नो आह्वानमार्फत भनेका छन्।

    महाधिवेशनमा सबैको सहज एवं उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्न एवं सो प्रक्रियामा कोही पनि कांग्रेसका सदस्य वञ्चित नहुन् भन्ने भावनाका साथ केन्द्रीय कार्यसमितिले पार्टीभित्र आपसी संवाद, सहमतिको वातावरण बनाउनका लागि अधिकतम् प्रयास गर्दै आएको पनि उनले दावी गरेका छन्।

    `लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुनसक्छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्दतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो।´ संवाद र सहमति बारेको प्रसंगमा उनले भनेका छन्।

    नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गरेर विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहदै आएको पनि उनले बताएका छन्।

    `त्यही जिम्मेवारीबोधका साथ वर्तमान कार्यसमितिले समस्त कांग्रेसजनको मनोभावना अनुसार पटक पटक संवादमार्फत सहमतिका सवै विकल्प स्वीकार गरेर सहभागिताको प्रयास गरेको हो। पार्टीको आन्तरिक जीवनमा सबै सदस्य सहभागी भएर हुने महाधिवेशन नै यस्तो विधि र उत्तम विकल्प हो, जसले फरक विचारलाई सम्मान, सम्बोधन र उचित विचारलाई अनुमोदन गर्दछ।´

    सभापति थापाले महाधिवेशनमार्फत सवैको सामुहिक प्रयासबाट पार्टीलाई एक्यवद्ध र गतिशील बनाउदै राष्ट्रका चुनौतीको सामना गर्नसक्ने बलियो कांग्रेस बनाउनेसमेत अठोट लिएका छन्।

    `अत: नेपाली कांग्रेसका सम्पुर्ण  साथीहरूलाई वडादेखि केन्द्रसम्मको महाधिवेशनको यो महाअभियानमा हार्दिकता एवं उच्च मनोवलका साथ सहभागी हुन पुन: आग्रह गर्दछु।´ सभापति थापाले आह्वान गर्दै भनेका छन्।

    उनले पार्टीका अग्रज नेताहरू, विभिन्न तहका पदाधिकारी एवं सदस्यहरूबाट आएको सुझावलाई मध्यनजर गरी पार्टीले, “२०८२ पौष सम्म नवीकरण भएका सबै क्रियाशील सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने” निर्णय गरिएको स्मरण गराउँदै त्यसै अनुसार सदस्यता व्यबस्थापन समितिले सदस्यता नामावली टुङ्ग्याइसकेको पनि भनेका छन्।

    सभापति थापाले सोही अनुसार नै केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अगाडि बढाएको र निर्वाचन अधिकृतहरू जिल्लामा खटिसकेको पनि उल्लेख गरेका छन्।

    `पार्टीको विधान बमोजिम विशेष महाधिवेशन पश्चात सम्पन्न हुन गईरहेको १५ औं महाधिवेशनको यो प्रक्रियामा पार्टीका सबै साथीहरूको सहभागिता सुनिश्चित गर्नका लागि भदौ २८ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्वको केन्द्रीय कार्यसमितिका तत्कालिन पदाधिकारी एवं सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा समावेश गर्ने गरी आवश्यक प्रबन्ध गरिसकेको´ पनि उनले उल्लेख गरेका छन्।

    उक्त निर्णय संगै तत्कालिन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको पनि सदस्य सुनिश्चित भइसकेकोले १५ औं महाधिवेशनको यो प्रक्रियामा केन्द्रीय सदस्यका रुपमा नै सहभागी हुने सभापति थापाले आफ्नो आह्वान पत्रमा पुन: उल्लेख गरेका छन्।

    कांग्रेसले असोज ३ गते वडाबाट प्रारम्भ भइ १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा १५औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend