अष्ट्रेलिया। नेपाली हास्यव्यंग्य तथा स्ट्यान्डअप कमेडीमा चिरपरिचित बनेका लेकमणी त्रिताल ‘रमेश अंकलको छोरो´ र उमेश कुमार गौतम `UKG´ले अष्ट्रेलियाबाट ‘गफी गफ’ पोडकास्ट सुरु गरेका छन्।
नेपालमा स्ट्यान्डप कमेडीमा केही वर्ष अघिसम्म जमेका यी दुवै कमेडियन अहिले अष्ट्रेलियामा छन्। यी दुवैले विश्वको अग्लो सर्वोच्च शिखर सगरमाथामाको आधार शिविरमा पुगेर कमेडी `सो´ गर्दै गिनिज बुकमासमेत नाम लेखाएका थिए।
कमेडियन लेकमणी र युकेजीले अष्ट्रेलियाको सिड्नीबाट ‘गफी गफ’ पोडकास्ट सुरु गरेका हुन्। कमेडी यात्रालाई विदेशी भूमिबाटसमेत नेपाली दर्शकमाझ पुर्याउने उद्देश्यसहित अष्ट्रेलियाबाट नयाँ पोडकास्ट ‘गफी गफ’ सुरु गरिएको युकेजीले बताए।
`हामी दुवै अष्ट्रेलिया छौं, लेकमणी र मेरो नेपालमा जमेको सहकार्यलाई विदेशको भुमीबाट पनि निरन्तरता दिएर नेपाली मायालाई पोडकास्टमार्फत जोड्न अघि बढेका हौं´ युकेजीले भने।
उक्त पोडकास्ट राइनो एन्ड रस (Rhino and Roos Production) को प्रस्तुतिमा निर्माण भेको हो। कार्यक्रममा नेपाली समाज, समसामयिक विषय, विदेशमा नेपालीको जीवनशैली तथा दैनिक जीवनसँग जोडिएका विभिन्न विषयलाई हास्य र व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिने जनाइएको छ।
युकेजी करिब चार वर्ष अघि अष्ट्रेलिया पुगेका थिए भने लेकमणी पनि विगत दुई वर्षदेखि उतै छन्। ‘गफी गफ’ प्रत्येक शुक्रबार साँझ ७ बजे नेपाली समयअनुसार युट्युबमार्फत प्रसारण सुरु गरिएको छ। नेपालमा रहेका दर्शकसँगै विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै कार्यक्रमलाई नियमित रूपमा प्रस्तुत गरिने उनीहरू बताउँछन्।
विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति, समाज र समसामयिक विषयलाई हास्य–व्यंग्यको माध्यमबाट जोड्ने प्रयासका रूपमा ‘गफी गफ’लाई हेरिएको छ। सामान्य गफगाफदेखि सामाजिक तथा समसामयिक विषयसम्मलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने कार्यक्रमको उद्देश्य रहेको लेकमणीले बताए।
अष्ट्रेलियाबाट सुरु भएको यो नयाँ यात्राले नेपाली हास्यव्यंग्यको क्षेत्रलाई अन्तर्राष्ट्रिय नेपाली समुदायसम्म थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनीहरूको दाबी छ।



