काठमाडौँ। राष्ट्रिय बाल अधिकार परिषद्ले यस वर्षको राष्ट्रिय बाल दिवस बाढी तथा विपद् प्रभावित बालबालिकाको संरक्षण र राहतमा केन्द्रित भएर मनाउन सबै सरोकारवाला निकायहरूसँग अनुरोध गरेको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा अभिभावक गुमाएका तथा घाइते र विस्थापित भएका बालबालिकाको उद्धार एवं संरक्षणमा राज्य जुटिरहेको सन्दर्भमा परिषद्ले यस्तो आग्रह गरेको हो।
बाढीका कारण सिर्जित शोक र क्षतिको विषम परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवस ‘बालपनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ मनाइँदै छ।
विज्ञप्तिमार्फत परिषद्ले विपद्का कारण बालबालिका परिवारबाट छुटिने, हिंसा, शोषण, बेचबिखन तथा आधारभूत सेवाबाट वञ्चित हुने जोखिम उच्च रहने औँल्याएको छ।
बालबालिकाको सर्वोत्तम हितको सिद्धान्तलाई आत्मसात् गर्दै बालमैत्री उद्धार, राहत, अस्थायी संरक्षण, मनोसामाजिक परामर्श र पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिन सम्बन्धित निकाय, विद्यालय तथा नागरिक समाजलाई आह्वान गरिएको छ।
यसै पृष्ठभूमिमा तडकभडक नगरी समस्यामा परेका बालबालिकाको सुरक्षा र अधिकार प्रत्याभूतिलाई केन्द्रमा राखी दिवसका कार्यक्रमहरू सञ्चालन गर्न परिषद्ले अपिल गरेको छ।



