काठमाडौँ। गत भदौ १० गते आएको भोटेकोशीबाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६०२ जनाको उद्धार गरिएको छ।
बाढीपछी पाँच हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो तथ्यांक सार्वजनिक गरेको हो।
हालसम्म बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३८६ पुगेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको र सम्पर्कविहीनमध्ये रसुवाबाट मात्रै दुई हजारभन्दा बढी रहेको जानकारी दिइन्।
“बाढीबाट प्रभावित विभिन्न स्थानमा फेला परेका शवमध्ये हालसम्म १०४ जनाको सनाखत गरी परिवारलाई बुझाइएको छ। शवको पहिचानका लागि एक हजार ३८६ मृतक र एक हजार ७५१ आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ।´´ प्रवक्ता महतले भनिन्।
प्राधिकरणका अनुसार नेपाली सेनाले हालसम्म एक हजार ४५५ पटक तथा सशस्त्र प्रहरी बलले ३२० पटक हेलिकोप्टर उडान गरी प्रभावित क्षेत्रबाट उद्धार तथा राहत कार्य गरेका छन्।
उद्धार गरिएकामध्ये ३३३ जनाको विभिन्न १९ वटा अस्पतालमा उपचार भइरहेको छ। यसैगरी २६६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। विभिन्न सुरक्षा निकायबाट पनि छ हजार ५२५ जनाले उपचार सेवा लिएका छन्।
नेपाल प्रहरीले सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजारभन्दा बढी नागरिकलाई परामर्श दिएको प्राधिकरणले जनाएको छ।
यसैबिच रसुवाका रसुवागढी, लाङटाङ, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा खोजी, उद्धार र पहुँच मार्ग निर्माणको काम जारी रहेको प्राधिकरणले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री सडक तथा हवाई माध्यमबाट निरन्तर पठाइएको छ। प्रारम्भिक आकलन अनुसार रसुवा बाढीबाट कुल विपत् प्रभाव चार खर्ब आठ अर्ब रुपियाँ बराबर रहेको र पुनर्लाभका लागि करिब सात खर्ब २३ अर्ब रुपियाँ आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ। तत्काल शीघ्र पुनर्लाभका लागि मात्रै आठ अर्ब ७३ करोड रुपियाँ आवश्यक पर्ने प्राधिकरणको प्रारम्भिक आकलन छ।
पहुँचमार्ग निर्माण
प्राधिकरणका अनुसार रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल भएको छ।
साढे तीन दिनको प्रयासपछि एक हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि हेलिकोप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा पहिले एक्साभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो।
तत्पश्चात् बाँकी रहेको कडा पहरा चिर्न नेपाली सेनाले नौ पटक नियन्त्रित ब्लास्टिङ गरी थप पाँच सय मिटर ट्र्याक निर्माण सम्पन्न गरेको छ। अब सुरुङको मुखसम्मै ठुला तथा भारी उपकरण र आवश्यक सामग्री पठाइएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले भोलि वा पर्सिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ।



