काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा विश्वकै दुर्लभ मानिने (एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुने) न्युरो सर्जरी सफलतापुर्वक सप्पन्न भएको छ।
वीर अस्पतालमा ल्याइएकी ४७ वर्षीया एक महिलामा मस्तिष्कको दुवै तर्फ गरी सातवटा `एन्युरिज्म´ भेटिएको थियो। यो प्रकारको अवस्थालाई न्युरो क्षेत्रमा जटिल मस्तिष्क शल्यक्रिया मानिन्छ। तर वीर अस्पतालका अनुभवी चिकित्सकहरुको नेतृत्वमा यस्तो जटील शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको हो। जसको नेतृत्व बरिष्ठ न्युरो सर्जन प्राडा राजीव झाले गरेका थिए।
मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल ल्याइएकी ती महिलाको परीक्षण गर्दा मस्तिष्कको दुवै तर्फ गरी सातवटा एन्युरिज्म भेटिएको शल्यक्रियामा सहभागी चिकित्सकहरुले जनाएका छन्।
ती महिलाको मस्तिष्कमा बायाँतर्फका तीन र दायाँतर्फका दुई प्रमुख रक्तनली जोडिने स्थानका एन्युरिज्म पहिचान भएका थिए।
सामान्यतया दुवै तर्फका एन्युरिज्ममा छुट्टाछुट्टै शल्यक्रियात्मक पहुँच आवश्यक पर्ने भए पनि वीर अस्पतालका न्यूरोसर्जनले बायाँतर्फबाटै शल्यक्रियात्मक पहुँच बनाएका थिए। त्यसपछि उनीहरूले दुवै तर्फका ६ वटा एन्युरिज्म सफलतापूर्वक क्लिपिङ गरेका हुन्।
सो शल्यक्रियामा करिब सात घण्टा समय लागेको थियो भने शल्यक्रियाका लागि बरिष्ठ न्युरो सर्जन प्राडा झाको नेतृत्वमा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटासहितका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।
ती महिलाको बाँकी एउटा एन्युरिज्मको उपचार भने रक्तनलीभित्रबाट गर्ने विधिमार्फत गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुनु अत्यन्त गम्भीर अवस्था मानिन्छ। यस्तो केशमा कहिलेकाहीँ बिरामीको मृत्यु तथा दीर्घकालीन स्नायु समस्या हुने जोखिम उच्च हुन्छ। यसलाई विश्वकै दुर्लभ सर्जरी मानिन्छ।
वीर अस्पतालले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफल एन्युरिज्म क्लिपिङ गरिसकेको जनाएको छ।
नेपालको जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साका क्षेत्रमा वीर अस्पतालको यो सफलतालाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ।



