काठमाडौँ। भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न जम्मा गरेर राखिएको राहत सामग्री संकलन केन्द्रमा नै म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको छ।
बाढी प्रभावित जिल्ला रसुवा र नुवाकोट पठाइन लागेका ती खाद्य सामग्री विभिन्न दाताले उपलब्ध गराएर संकलन केन्द्रमा राखिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले संकलन केन्द्रमा अनुगमन गर्दा ती खाद्य सामग्री न्यून गुणस्तरको रहेको तथा म्याग गुज्रिएको फेला परेको पाइएको हो।
संयुक्त टोलीले राजधानीका विभिन्न पाँच वटा राहत भण्डारण तथा सङ्कलन स्थलमा आकस्मिक निरीक्षण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जानकारी दिए।
अनुगमनका क्रममा केही सामग्रीमा उपभोग्य मिति समाप्त भएको पाइएको थियो भने केही न्यून गुणस्तरको रहेको पाइएको थियो। त्यस्ता सामग्री उपलब्ध गराउनेहरु केही स्थापित निकायसमेत भेटिएका छन्। विभागले ती सामग्रीमा कैफियत भेटिएपछि जफत गरी छुट्टै राखिएको जनाएको छ।
शर्माले बाढी प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री स्वास्थ्यका लागि हानिकारक नहोस् भनेर सङ्कलन केन्द्रमै गएर सूक्ष्म रूपमा गुणस्तर अनुगमन गरिएको पनि जानकारी दिए।
अनुगमनमा सहरी विकास तथा भवन निर्माण विभाग बबरमहलमा राखिएका राहत सामग्रीमध्ये गिरिधारी फुड प्रोडक्ट बुटवलको २१ बोरा ‘भुजा’ को उपभोग्य मिति समाप्त भएको फेला परेको थियो। उक्त सामग्रीलाई तत्काल छुट्टै ‘एक्सपायर्ड जोन’ मा राख्न लगाइएको छ।
त्यस्तै सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा राहतका लागि सङ्कलन गरिएका सामग्रीमध्ये चोकोफन र पाँच केजीको चक्की आटा म्याद नाघेको भेटिएको छ।
यसैगरी दुई दिन मात्र उपभोग्य अवधि बाँकी रहेको ५९ प्याकेट दालमोठ पनि त्यहा फेला परेको छ। उक्त दालमोठलाई राहतमा नपठाउन निर्देशन दिइएको छ।
विभागका अनुसार बाढी प्रभावित क्षेत्रमा पठाउन लागिएको चामल पनि म्याद गुज्रिएको पाइएको छ। सामाखुसीस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा राहतका लागि भण्डारण गरिएका २५ केजीका उसिना चामलको उपभोग्य मिति समाप्त भएको पाइएको हो। उक्त चामललाई त्यहाबाट हटाउन निर्देशन दिएको छ।
विभागले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय थापाथलीस्थित गोदाममा राहतका लागि तयारी अवस्थामा राखिएको फोर्टिफाइड चामल, मुसुरो दाल र सूर्यमुखी तेलको लेबल र उपभोग्य मिति सही फेला परेको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट राहतका लागि प्राप्त भएका चक्की आँटा, चिया, चिनी, लङग्रेन चामल, काबुली चना, रेड राइस फ्लेक्स (चिउरा), नुन, तेल तथा मसलाको अवस्था पनि सन्तोषजनक पाइएको जनाएको छ।
विभागले यी दुवै स्थानका सामग्री वितरण गर्दा ‘असल वितरण अभ्यास’ पूर्ण रूपमा अपनाउन निर्देशन दिएको छ।
विपत्तिको संवेदनशील समयमा राहतका नाममा गुणस्तरहीन र स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य सामग्री वितरण नगर्न र खाद्य सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न विभागले सरोकारवाला सबैलाई आग्रह गर्दै सचेतसनेत गराएको छ।



