मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

होटलका लागि ग्यास सिलिन्डरको तौल बढाउने तयारी

होटलका लागि ग्यास सिलिन्डरको तौल बढाउने तयारी

images
२०८३ भाद्र २१ गते, आइतवार
२०८३ भाद्र २१ गते, आइतवार
  • काठमाडौं। सरकारले ब्यवसायिक प्रयोजनका लागि एलपी ग्यासको सिलिन्डरको तौल बढाउने तयारी गरेको छ।

    images

    उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्दै होटलका प्रयोजनका लागि एलपी ग्यासको सिलिन्डरको तौल बढाउने तयारी भइरहेको बताएकी हुन्।

    images

    बाढीका कारण पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि होटल व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर उनले छलफल गरेकी हुन्।

    सो क्रममा उनले अहिलेको अवस्थामा उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि आग्रह गरिन।

    कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत मन्त्री यादवको आग्रह थियो।त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताएकी हुन्।

    मन्त्री यादवले होटल व्यवसायका लागि छुट्टै र घरायसी प्रयोजनका लागि छुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको सो क्रममा जानकारी गराएकी हुन्। होटलमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको सिलिन्डर ठूलो बनाउनुपर्ने प्रस्तावसमेत उनले अघि सारेकी हुन्।

    उनले होटल व्यवसायलाई बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताइन। 

    छलफलमा नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानीलाई सहज बनाउन होटल व्यवसायीहरू आफैंले समेत सवारीसाधनको व्यवस्था गरेर ग्यास ढुवानीमा सहयोग गर्न आग्रह गरे।

    शाहले पछिल्लो अवस्थाका कारण कतिपय उपभोक्ता लामो समयसम्म ग्यास नपाएर समस्यामा परेको जानकारी आएको बताउँदै यस्तो अवस्था दोहोरिन नदिन होटल व्यवसायीलाई पनि सहजीकरण गर्न आग्रह गरे। उनले होटल प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाउने विषयमा समेत छलफल आवश्यक रहेको बताए।

    भारतबाट आयात हुने ग्यासमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न नेपालको विद्युत् ऊर्जाको प्रयोग बढाउनुपर्नेमा समेत शाहले जोड दिए। 

    छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले अहिले पनि बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरे।

    अध्यक्ष शाहले होटल व्यवसायीहरू ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोतर्फ जान तयार रहेको बताए। तर होटल व्यवसायलाई उद्योगको रूपमा नहेरी महँगो विद्युत् महसुलमा राखिएका कारण समस्या भइरहेको भन्दै होटललाई पनि उद्योगसरह सहुलियत दरमा विद्युत् उपलब्ध गराउन राज्यसँग आग्रह गरे।

    होटल प्रयोजनका लागि ग्यास सिलिन्डर १९ केजी बनाउने विषयमा भने व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर मात्र अघि बढेमा आफूहरूको साथ रहने अध्यक्ष शाहले बताए।

    सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न थालेको भन्दै मन्त्री यादवले आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend