मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यात्रा

यति एयरमा `जाउँजाउँ गुरुजी!´

यति एयरमा `जाउँजाउँ गुरुजी!´

images
२०८१ मंसिर १२ गते, बुधवार
२०८१ मंसिर १२ गते, बुधवार
  • काठमाडौं। हवाइ यात्रा कतिऔं हो ठ्याक्कै याद छैन।तर मंगलबारको `यति एयर´ को यात्रा अविस्मरणीय भयो। काठमाडौंबाट भैरहवाका लागि म सहित १३ जना पत्रकार यतिको यात्रु थियौं। नचिनेका धेरै थिए। कोटेश्वर पुग्नै लाग्दा पत्रकार पेशल आचार्यको फोन आयो।

    images

    `कहाँ छौ? ढिलो भयो।,´ `आउदै छु, सिनामंगल क्रस गरें´ मैले जवाफ फर्काएँ। करिब ५ बजेर १० मिनेटमा म विमानस्थल प्रवेश गरिसकेको थिएँ।

    images

    `५:४० को फ्लाइट एक घण्टा डीले भयो´ यात्राका टोलीसँग भेट हुने बित्तिकै सुनियो। हामी आन्तरिक टर्मिनल भित्र प्रवेश गरेर बोर्डिङ गरेर बस्यौं। नेपालको हवाइ यात्रा डीले सामान्य नै हो भन्ने लागेर पचायौं। विमानस्थल भित्र कफि गफ भयो, गफियौ।

    सवा ७ बजे `भैरहवा भैरहवा´ आवाज आयो। कलंकी शैलीमा विमानका कर्मचारी कराए। हामी बोर्डिङ पास देखाउदै बसमा चडेपछि विमानसम्म पुगियो।

    `तपाइहरु कहाँ जाने?´ बसका चालकले  विमान नजिक पुग्नै लाग्दा प्रश्न गरे। पत्रकार दिवस गुरागाईँ बोले, `चाबहिल।´

    अर्का पत्रकार सुनिता सिटौलाले थपिन, `तपाईं विमानको कर्मचारीलाई कुन फ्लाइटमा यात्रु पुर्याउने थाहा छैन?´

    `हामीलाई विमान कहाँ जान्छ थाहा हुदैन हजुर, उहाँ (वाकिटकी सेट बोकेको) सरलाई  थाहा हुनुपर्ने उहाँलाई नि जानकारी रहेनछ।´ ती चालकले नम्र शैलीमा जवाफ दिए।

    झ्यालबाट भैरहवा जाने विमान देखियो, बस अडियो। वाकिटकी बोकेका चालकले भनेका `सर´ झरे। टक्क रोकिएको यतिको जहाजबाट अन्यत्रबाट आएका यात्रु झर्दै थिए। हामी सवार बसको ढोका खुलेन। यात्रु चडाउने समय नभएकाले होला सायद! अनुमान मिल्यो।

    `गुरु जी बरु एक फन्को लगाएर ल्याउनुस न, एयरपोर्ट घुमौं´ धेरैबेर बस रोकिएपछि फेरि पत्रकार गुरागाईँ बोले।

    `मैले त्यसरी घुमाउन मिल्दैन नि हजुर´ चालकले जवाफ फर्काए। यतीको भैरहवा उड्ने जहाज बाहिर शीत खादै थियो। हामी बस भित्र। जहाजका कर्मचारी टर्च बालेर विमान जाँच गर्दै थिए।

    `ए चेक बि चेक गर्नु पर्ने होला´ पत्रकार गुरागाईले थपे। विमानको हावा कम भएर होला सायद हावा हाल्ने मेसिन लिएर विमानका कर्मचारी विमान भएको ठाउँमा आए।

    `पम्चर भएछ क्यार´ भैरहवा  उड्न यतिको भर परेका पत्रकार अजित अधिकारी बोले। `नाइट्रोजन ग्यास हो, यो हालेन भने त टायर पड्किन्छ नि´ बसका चालकले जवाफ फर्काए।

    चालकले यतिका कर्मचारीबाट विमान जाँच हुँदै गरेकाले यात्रुले देख्ने गरि नराख्न ग्रीन सिग्नल पाए

    `अलि अगाडी एकजना यात्रुले भीडीयो बनाएछ्न, यहाँ यस्तै हो´ सानो स्वरमा बसका चालक बोल्दै बस अगाडी हुइकाए।`

    चाबहिल पुगेर आउँ´ यात्रु मध्येका अर्का कोहि बोले। बस अघि बड्यो। समय ७ बजेर ३० मिनेट भैसकेको थियो। बस एक फन्को लगाएर चालकले विमानकै नजिक लगेर रोके।

    `पोखरा गएर बस्ने यो, यो चाहिँ बिराटनगर गएर बस्ने, यहाँ १० बजेपछि धेरै प्लेन राख्न दिंदैन´ बसबाटै चालकले यति एयरका अन्य विमान देखाउदै भन्दै थिए।

    फेरि अर्को फन्को लगाउन चालकलाई आदेश आयो। उनी बसलाई हुइकाउदै अघि बढे, यस्तै क्रम चल्यो, हामीले बसमै विमानस्थल दोस्रो फन्को मार्दै थियौं। बस करिब ३० मिटर दुरीमा गएर रोकियो।

    `दाइ के भएको, यो त हद भयो?´ एकजना महिला यात्रु जंगिए, `हामीलाई जहाबाट चढाएको त्यही लगेर झार्दिनु, हामी तपाइको हाकिम सँग कुरा गर्छौं।´

    ती चालकले शालिनता देखाउदै बोले, `हामी त जता जा भन्छ्न त्यतै जाने हो, उता जाउ भन्छ, मलाइ पनि कहाँ थाहा हुन्छ र?´

    ती यात्रु रोकिएनन,`दुई घन्टा डीले भनेर ८ बजि सक्यो घुमाको छ घुमाको छ।´

    `जाउं जाउँ गुरु जी, जाउँ जाउँ´बसका पछाडी बसेका फोटो पत्रकार रत्न श्रेष्ठको आवाज आयो।

    बसका चालक तीनै महिलालाई नरम जवाफ फर्काउँदै थिए, `हामीलाई भनेर हुँदैन मिस, जता लग भन्छ त्यतै जाने हो।´

    हामी सवार बस भन्दा पारी कतारको जहाज रन वे मा दौडियो, कयौं नेपाली खाँडीको सपनासँगै उडे, कतार एयरले भुइँ छाड्यो।  फ्लाइ दुबै पनि मैदानमा आयो, रन वे मा दौडियो, उ पनि गयो,पक्कै त्यहा पनि देशमा केही हुँदैन भन्नेहरु आश मारेर उड्दै थिए।  तर यतिको ५:४० को विमान ७:४० मा पनि उड्न तयार भएन।

    तीन फन्को मारेपछि पत्रकार शुदर्शन अर्याल बोले, `यतिबेला सम्म त टायर नै चेन्ज हुन्थ्यो होला है?´ ड्राइभरको जवाफ आयो, `भ्याट्भ्याट पार्दै छ, त्यो उ मिलाउनु पर्छ, बाटोले गर्दा त हो प्लेन चड्ने मान्छे यतिराती सम्म यति भिड भएको।´

    पत्रकार पेशल आचार्य थपे, `नौ बजे त पुगिएला, हावा हालेर सकियो।´ अर्का यत्रु पनि हौसिए,` सक्यो सक्यो आवाज आयो, अब उड्छ।´

    फेरि प्लेनका कर्मचारीले बस चालकलाई आदेश दिए। `अलि अगाडि जानू न´, ड्राइभरले बस स्लो मोसनमा चलाए। `यस्तो भएपछि बोर्डीङ नै नगराउनु नि´ ड्राइभरलाई पनि रिस उठेछ। बस अघि बढ्दै थियो।

    `अब अलिक परै पुर्याएर ल्याउनु´ पत्रकार कल्पना घिमिरे बोलिन। त्यहीबेला पत्रकार अधिकारीले घरमा कुरा गर्दै गरेको सुनियो `प्लेनमा हावा हालिरहेको छ, हामी बसमा छौं।´

    घरको फोन राखेर फेरि अधिकारी बोले, `प्लेन उडेपनि धोका पो दिने हो कि।´

    ७ बजेर ४० मिनेटमा बसको ढोका खुल्यो। यात्रु झारियो। सबैले आफ्नो घरमा खबर गर्न भ्याए। `चडें, अब हिड्न लाग्यो, बत्ती बालिसक्यो।´

    ७:५५ मा विमानको ढोका बन्द भयो। `यात्रा ढिला हुन गएकोमा क्षमा प्रार्थी छौं,´ एयर होस्टेज बोलिन। उनले क्याप्टेन पेमा लामासहितको क्याविन क्रु को परिचय दिइन। `हामी १३ हजार ५०० फिटमा उड्ने छौ, ३० मिनेटको उडान समय हुनेछ´ एयर होस्टेजले त्यति भन्दै गर्दा ७:५८ मा विमानले काठमाडौको भुइँ छाड्यो।

    विमानको बत्ती बन्द भयो। राती भएपनी बालाजुको नागार्जुन जंगल चिनियो, विमान थानकोट तर्फ मोडिएको थाहा भयो। नागढुंगाको उकालो कटेपछी बादल भित्र पसियो। विमान ऐ हल्लिए जस्तो आवाज आयो। थानकोट डाँडो कट्यो, विमान भित्र बत्ती बल्यो। एयर होस्टेज चकलेट र कपास लिएर यात्रुको सेवामा आइन।

    `कृपयाँ ध्यान दिनुहोला, मौसमका कारण विमान हल्लन सक्छ, आफ्नो सिटबेल्ट बाधेर सुरक्षित रुपमा बसिदिनु होला´, एयर होस्टेजले माइकबाट होस्ट गर्दै भनिन।

    यात्रुहरु अलि ढुक्क देखिए। कोही एयर होस्टेजले दिएको चकलेट खादै त कोहि सिट माथिको एयर भल्ब घुमाउदै थिए। रातीको ८ बजेर ८ मिनेट गयो। दुई एयर होस्टेज फेरि  पिनट्स र जुस लिएर सेवामा आए। विमानको गति त मापन गर्न सकिएन, तर द्रुत थियो। सडकमा यात्रा गर्दा सडक किनाराका डिभाइडरले आवाज दिएझै हावा आफ्नो गतिमा, विमान आफ्नै गतिमा।

    `विमानको गति कति होला?´ मैले संगैका यात्रुलाई सोधें। उनी पनि अनुमान लाउन नसक्ने म जस्तै थिए। 
    मेरो प्रश्न खस्न नपाउदै बदामको पोका खोलेर खाइसकेका उनले पकेटबाट जुस निकालेर फेरि पकेटमै राखे।

    ती यात्रुका श्रीमती र छोरा पारिको सिटमा थिए। छोराले प्रश्न गरे, `कति बज्यो बाबा?´`साँढे आठ हुन लाग्यो´बाबाको जवाफ पछि पारी तर्फको सिटमा मामु सँगै बसेका छोरा झ्यालबाट तलतिर हेर्न थाले। उनका बाबा मसँग गफिन।

    मसँगैक ती यात्रुसँग परिचय भयो। बुटवल घर, अस्ट्रेलिया बाट छोरीभेटेर फर्किएका उनी बुटवलका डोमराज अर्याल। `छोरी अस्ट्रेलिया गएको ६ वर्ष भयो, हामी पनि घुमेर आएको´ उनले सुनाए। किराना पसल, पोल्ट्री ब्यवसाय उनले आफ्ना काम र कुरा सुनाउँदै गए, म सुन्दै। ८ बजेर २३ मिनेटमा अवतरणका लागि प्लेनको टायर खुल्यो।

    `हामी भैरहवा अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौ´एयर होस्टेजले होस्ट गरिन। २० घण्टादेखि अस्ट्रेलियादेखि यात्रा गर्दै आएका बुटवलका डोमराज म भन्दा खुसी भए। उनी घर पुग्दै थिए, म भैरहवा।

    `चाइना ट्रान्जिट, अस्ट्रेलियाको कानुन, त्यस्तो पो देश´ उनी बोल्दै थिए, म यती एयरको उडानको समय र एयर होस्टेजको `क्षमा गर्नुहोला´ सम्झदै।  `सायद अस्ट्रेलिया जस्तै भएको भए यतिको विमान टाइममा उड्थ्यो होला है?´ मैले उनलाइ उनको थकान मेट्न प्रयास गर्दै सोधें।

    ८ बजेर २७ मिनेटमा विमानले भैरहवा अन्तरास्ट्रिय विमानस्थलको भुइँ छोयो। 

    `हामी भैरहवा अवतरण गरेका छौ, बाहिरको तापक्रम १८ डिग्री सेल्सियस, फेरि सेवाको मौका दिनु होला,´ एयर होस्टेज हामीलाई बिदाइका लागि आफ्नो प्रयोगात्मक शब्द बोल्दै थिइन। ८ बजेर ३१ मिनेटमा विमान रोकियो। यतिसँग फेरि सेवाको मौका लिने कि नलिने मैले टायर भ्याटभ्याट हुँदैछ भन्ने ती गुरुजीलाई सम्झिएं। वाह यति।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend