काठमाडौँ। नेपाली कांग्रेसले भोटेकोसी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकमार्फत कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
यसैगरी बैठकले सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक रहेको जनाएको छ भने नेपालको आफ्नो क्षमताले नभ्याएमा अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्ने कांग्रेसले बताएको छ।
कांग्रेसले सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्नेमा बैठकमार्फत जोड दिएको प्रवक्ता चालिसेले जानकारी दिएका हुन्।
प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वय र जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन सरकारलाई आग्रह पनि गरे।



