मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शव पहिचानमा सहयोग गर्न भारतबाट आइपुग्यो फरेन्सिक टोली

शव पहिचानमा सहयोग गर्न भारतबाट आइपुग्यो फरेन्सिक टोली

images
२०८३ भाद्र १४ गते, आइतवार
२०८३ भाद्र १४ गते, आइतवार
  • काठमाडौँ। भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएकाहरुको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न भारतबाट फरेन्सिक टोली आइपुगेको छ।

    images

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार भारतबाट १८ जना विशेषज्ञ सम्मिलित फरेन्सिक टोली नेपाल आइपुगेको हो। उक्त टोलीले शवको डीएनए नमुना परीक्षण तथा पहिचान प्रक्रियामा नेपाली निकायलाई प्राविधिक रुपमा सघाउने छ।

    images

    भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानमा सहयोग गर्नेछ।’ 

    श्रीवास्तवले पनि एक्समा लेखेका छन्, ‘काठमाडौं आएको चौथो राहत उडानसँगै आइपुगेको भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गरेँ। उनीहरूले नेपाली समकक्षीसँग मिलेर रसुवामा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको डीएनए नमुना विश्लेषणमा सहयोग गर्नेछन्। नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर बलियो सहयोग गर्नेछ।’ 

    भारतले यसअघि पनि नेपाललाई राहत सामग्री उपलब्ध गराउँदै आएको छ। नेपालले भने बाढीपहिरोमा भेटिएका ६०० भन्दा बढी शवको पहिचान गर्न फरेन्सिक प्रयोगशाला तथा तीव्र डीएनए परीक्षणका लागि थप सहयोग मागेको छ।

    परराष्ट्रमन्त्री शिशिर खनालले भने, ‘हामी फरेन्सिक प्रयोगशालाका लागि थप सहयोग खोजिरहेका छौँ। हामीले ६०० भन्दा बढी शव फेला पारेका छौँ, जसमध्ये धेरैको पहिचान गर्न निकै कठिन अवस्था छ। हामीले तीव्र रूपमा डीएनए परीक्षण गर्नुपर्ने भएकाले त्यस्तो सहयोग खोजिरहेका छौँ र यसका लागि सक्रिय रूपमा समन्वय गरिरहेका छौँ।’

    यसअघि भारतले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री तथा विशेष प्राविधिक क्षमता बोकेको चौथो उडान काठमाडौं पठाएको थियो।

    भारतका विदेशमन्त्री एस जयशंकरले एक्समा लेखेका छन्, ‘चौथो भारतीय उडान काठमाडौंमा अवतरण गरेको छ। यसले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री र प्राविधिक क्षमता ल्याएको छ।’

    यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार आइतबार बिहानसम्म नेपालमा भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २ हजार ४१९ जना सम्पर्कविहीन छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend