काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले कार्कीलाई निर्देशकमा नियुक्त गरेको हो।
उदयपुरका स्थायी बासिन्दा कार्कीलाई २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए ।
कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभवसमेत छ ।
शैक्षिक रूपमा कार्कीले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन्।



