मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लगातार दुईपटक प्रदेशमा स्वास्थ्यमन्त्री बनेका थापा बागमतीको मुख्यमन्त्री बन्दै, आजै सपथ

लगातार दुईपटक प्रदेशमा स्वास्थ्यमन्त्री बनेका थापा बागमतीको मुख्यमन्त्री बन्दै, आजै सपथ

images
२०८३ भाद्र ४ गते, बिहिवार
२०८३ भाद्र ४ गते, बिहिवार
  • काठमाडौं। बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर आजै नियुक्त हुँदैछन्।

    images

    बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडाले प्रदेश सभा सदस्य थापा मगरलाई बिहीबार अपराह्न मुख्यमन्त्री पदमा नियुक्त गरी शपथ गराउने कार्यक्रम तय गरेको हो। उनी नेकपा एमालेका प्रदेशका संसदीय दलका नेता हुन्।

    images

    उनी बागमतीका पुर्व स्वास्थ्यमन्त्री समेत हुन्। स्वास्थ्यमन्त्री रहँदा उनले प्रदेशमा उल्लेखनीय काम गरेका छन्। त्यही कारण उनलाई लगातार दुईपटक पार्टीले एउटै मन्त्रालयको नेतृत्व गर्ने अवसर दिएको थियो।

    मुख्यमन्त्रीमा उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन प्राप्त भएको छ।

    प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभा सदस्य थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्न लागिएको जनाएको छ।

    प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यले तीन दलको समर्थनसहित थापालाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि निवेदन प्राप्त भएको र बिहीबार अपराह्न नियुक्ति तथा शपथ ग्रहण तय गरिएको जानकारी दिए।

    शाखा अधिकृत आचार्यद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभा सदस्य किरण थापा मगरलाई बिहीबार अपराह्न ४ः०५ बजे बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिनेछ। उनको शपथ ग्रहण समारोह अपराह्न ४ः२० बजे हुने छ।

    यसअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार अपराह्न ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।

    उक्त आह्वानअनुसार एमाले, नेकपा र राप्रपाले थापालाई मुख्यमन्त्री नियुक्त गर्न समर्थनसहितको निवेदन पेस गरेका थिए।

    मुख्यमन्त्रीमा थापाको नियुक्तिसँगै बिहीबार नै मन्त्रिपरिषद् गठन गरिने तयारी छ। मन्त्रिपरिषद् गठनका लागि तीन दलका बीचमा भागबन्डा भइसकेको बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend