काठमाडौँ। नेपाल आयल निगमले आज सोमबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै खाना पकाउने ग्यास विक्री भएको बताएको छ।
आयल निगमले उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर सोमबार हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री भएको जनाएको हो।
निगमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै सोमबार ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ। त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लाहरूमा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री वितरण गरिएको निगमले दाबी गरेको छ।
निगमले शनिबार र आइतबार आफैँ ठाउँ तोकेर ग्यास विक्री गरेको थियो। तर सोमबारबाट भने स्थानीय विक्रेतामार्फत नै ग्यास विक्री गरिएको हो।
पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए।
निगमले आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने विश्वास लिएको छ।



