काठमाडौँ। समस्या हुन्छन् र, तीनका समाधान पनि हुन्छन्। तर, समाधानै नचाहनेहरूलाई दुई रुपैयाँ दिनु, बुद्धि नदिनु।
काठमाडौँको एउटा कुनामा कांग्रेस इतरका बुढाहरूले राष्ट्रिय भेलाको आयोजना गरेका छन्। भेलाको आयोजना गर्ने तथाकथित वरिष्ठहरू देशको वर्तमान परिस्थितिसँग जानकार नै छैनन्। जानकार भएका भए, त्यो भेलामा वर्तमान परिस्थितिमै केन्द्रित भएर भाषण गर्थे।
वीपीको मार्गमा हिँड्न नसक्ने वीपीपुत्रहरू, जसका बुबा राजनीतिमा अझै सान्दर्भीक छन् तर, उनका सन्तान राजनीतिबाट विस्थापित भइसके, उनीहरुको भाषणमा कम्तीमा वीपीका आदर्श झल्केका भए पनि हुन्थ्यो। त्यो पनि भएन। बरु, त्यहाँ भाषण दिने जम्बो टोलीले गगनलाई तथानाम गर्नुबाहेक केही गर्न सकेनन्। यो कस्तो कुण्ठा हो? गाली गर्ने अनि मिल्न चाहेको पनि भन्ने? कसलाई उल्लु बनाएको?
श्रद्धेय नेता स्व. प्रदिप गिरी भन्नुहुन्थ्यो, 'पार्टीहरू चुनाव हार्दैमा सकिँदैनन्, बरु त्यसबेला कुहिन्छन्, जब उनीहरू आफैसँग इमानदारीपूर्वक बहस गर्न छोड्छन्। उनका लागि आन्तरिक लोकतन्त्र फगत एउटा प्रक्रिया होइन, राजनीतिक जीवन्तताको स्रोत हो।' यो भेला आयोजना गर्नेहरु आफैसँग इमान्दारीपूर्वक बहस गर्न छोडेका, कुहिएकाहरु हुन्।
भदौ २३ र २४ मा देशभर देखिएको जनअसन्तुष्टि र विद्रोहलाई केही पनि नठान्नेहरू आज पनि पुरानै राजनीतिक भाष्य दोहोर्याइरहेका छन्। उनीहरूका लागि देशका चुनौतीभन्दा आफ्नो व्यक्तिगत रिस, असन्तुष्टि र शक्ति प्रदर्शन नै ठूलो विषय बनेको देखिन्छ। त्यसैले त्यहाँ उपस्थित भएकाहरुको भाषणहरू समाधान खोज्नेभन्दा दोषारोपण गर्ने प्रतिस्पर्धाजस्ता लागे।
के–के न जितेझैँ विदेशबाट फर्किँदा तामझामका साथ स्वागत गरिएका शक्तिह्रास भएका एक जना बुढालाई मञ्चमा उभ्याएपछि अब कांग्रेस फेरि उनीहरूकै वरिपरि घुम्छ भन्ने भ्रम पाल्नु राजनीतिक यथार्थभन्दा धेरै टाढाको कुरा हो।
समय बदलिएको छ, पुस्ता बदलिएको छ र जनताको अपेक्षा पनि बदलिएको छ। पुराना अनुहार, पुरानै भाषण र पुरानै कुण्ठाले अब नयाँ राजनीतिक ऊर्जा सिर्जना गर्न सक्दैनन्। राजनीति विगतको सम्झनामा होइन, वर्तमानको यथार्थ र भविष्यको दृष्टिमा टिक्छ।
यतिका वर्षसम्म राजनीति नै गरेर आएका बुढाहरुले राजनीतिमा के चाहीँ सिके? देश यत्रो ठूलो परिवर्तनबाट गुज्रिँदा बुढाहरुको पार्टीलाई युवामय बनाएर सान्दर्भीक बनाइराख्ने गगनको विकल्प खोज्नेहरु आफै सकिन्छन्। हुन त, यी पाखण्डीहरु सकिन के नै बाँकी छ र? (रमेश खरेलको फेसबुकबाट)



