काठमाडौं। सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष संचालनमा ल्याइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्षको उद्घाटन गरेकी हुन्।
सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ।
बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि र उपभोक्तामाथिको आर्थिक भार कम गर्ने उद्देश्यसहित बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो।
सरकारी स्वामित्वको कम्पनीमार्फत नै उपभोक्तालाई सहज र तुलनात्मक रूपमा सुलभ मूल्यमा आवश्यक खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको बताइएको छ।
उद्योगमन्त्री यादवले बिक्री कक्षको उद्घाटन गर्दै उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन्।
सिंहदरबारको केन्द्रमै यस्तो बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत सहज रूपमा आवश्यक खाद्य सामग्री खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।
सरकारी निकायले सञ्चालन गरेको यो बिक्री केन्द्रले बजारमा मूल्य नियन्त्रण र उपभोक्तालाई राहत दिने सरकारी प्रयासलाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।



