काठमाडौं। भारतीय चेन होटल कम्पनी लर्ड्सले काठमाण्डौं महाराजगञ्जमा होटल मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा नयाँ लक्जरी होटल सञ्चालनमा ल्याएको छ।
सुविधासम्पन्न उक्त होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन्। आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटलमा तीन भवन रहेका छन्।

होटलको एउटा भवनमा चाइनिज रस्टुेरेन्ट र स्पा, अर्कोमा मुख्य होटल र तेस्रो पार्टीको लागि छुट्याइएको छ।
भारतीय कम्पनी लर्डस प्राइमले व्यवस्थापन गर्ने यो होटलमा नेपाली पर्यटन उद्यीहरुको लगानी रहेको होटलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए।

उनका अनुसार होटलमा चारतारे स्तरका सुविधाहरु रहेपनि अहिले स्टार नलिई सञ्चालन गर्न लागिएको छ। होटलमा थप स्तरोनत्ती गरि विस्तारै स्टार लिइने पनि उनले जानकारी दिए।
महाराजगञ्ज चक्रपथमा रहेको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको छ। सजिलो लोकेशनमा रहेका कारण यहाँ बस्ने पर्यटकहरुले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानीलकण्ठ मन्दिर र ठमेल नजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बूढानीलकण्ठ तथा ठमेल सहज रुपममा पुग्न सक्नेछन्।

भारतमा दजनौं चेन होटल सञ्चालनमा ल्याएको लर्डले यस अघि काठमाण्डौंको बौद्धमा दुईवटा, विरजञ्ज, नेपालगन्ज र भैरहवामा एक एक वटा होटलको व्यवस्थापन गरिसकेको छ।

आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटल विस्तारको योजना राखिएको लर्डस ग्रुपका नेपालका एशोसियट भाइस प्रेसिडेन्ट शैलज एन तेरीले जानकारी दिए।
उनका अनुसर होटल ओपनिङ कै अवसरमा सयौं विदेशी पर्यटकहरुको बुकिङ भइसकेको छ भने अन्य बुकिङका क्रममा रहेका छन्।

होटलले अन्य विदेशी पर्यटकसँगै विशेषगरि चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरिएको छ।
मण्डला नोर्लिङ होटलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ। त्यस्तै, भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहुभान्सा (मल्टि क्विजिन) राखिएको छ।

साथै, होटलमा ५० जनाभन्दा बढी अटाउने चार वटा हलहरु पनि रहेको छ। तीन वटा ठूला हल निर्माणको क्रममा रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ।
मण्डला नोर्लिङ होटलको रुपटप स्वीमिङ पुलको व्यवस्था छ। ३६० डिग्री भ्यू, दुई वटा रेस्टुरेन्ट, बार रहेको होटलमा भित्री र बाहिरी पाकिङमा करिब तीन सय गाडी अटाउन सक्छ। होटलको भुईं तल्लामा पार्टी प्यालेन्स पनि हुनेछ।

पछिल्लो समय नेपालमा स्तरीय होटलहरुको संख्या बढिरहेको सन्दर्भमा यो होटलको सञ्चालनले नेपालको पर्यटन विकासमा थोरै भएपनि योगदान दिने अपेक्षा गरिएको छ।




