कैलाली। कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको हो।
प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी छन्। शनिबार बिहान ११ः३० बजे यो घटना भएको हो।
गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी थिइन्। त्यसलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
घटनापछि बालकलाई बाल्टिनबाट निकालेर तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड पुर्याइएको थियो। तर अस्पताल पुर्याइएलगत्तै बालकलाई चिकित्सकले दिउँसो करिब १२ः३० बजे मृत घोषणा गरेका थिए।
प्रहरी निरीक्षक जोशीका अनुसार बालकको शव शवपरीक्षणका लागि दोदोधरा अस्पताल, बौनिया पठाइएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



