मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सर्पले टोकेर बैशाखयता ५६ जनाको मृत्यु

सर्पले टोकेर बैशाखयता ५६ जनाको मृत्यु

images
२०८३ श्रावण २१ गते, बिहिवार
२०८३ श्रावण २१ गते, बिहिवार
  • काठमाडौं। सर्पको टोकाइबाट २०८३ वैशाख १ देखि साउन २० गतेसम्मको अवधिमा ५६ जनाको मृत्युु भएको छ।

    images

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा ६४ जिल्लामा सर्पले टोकेका ७६८ घटनाको अभिलेख छ। जसमध्ये ५६ जनाको मृत्यु भएको छ भने ७१९ जना घाइते भएका छन्। 

    images

    घटना संख्याका आधारमा हेर्दा कञ्चनपुरमा सबैभन्दा धेरै ७२ वटा टोकाइका घटना भएका छन् भने सर्पको टोकाइबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्।

    ८० प्रतिशत मृत्यु अस्पताल वा उपचार केन्द्र पुग्न ढिलाइका कारण

    सर्पदंशबाट हुने मृत्युमध्ये झन्डै ८० प्रतिशत मृत्यु अस्पताल वा उपचार केन्द्र पुग्न ढिलाइ भएका कारण हुने गरेको देखिएको छ। 

    त्यसैगरी, ग्रामीण क्षेत्रमा सर्पले टोकेपछि अझै पनि पहिलो प्राथमिकता अस्पताललाई नदिई स्थानीय धामीझाँक्री, झारफुक वा घरेलु उपचारमा समय खेर फाल्ने गरिन्छ, जसले विष शरीरभरि फैलिन्छ। त्यस्तै, टोकेको ठाउँमा कस्ने, कडा डोरीले बाँध्ने, चुस्ने कार्य गर्दा पनि अवस्था खराब हुने गरेको छ। 

    त्यसैगरी, विशेषगरी 'करेत' सर्पले राति सुतेका बेला टोक्दा दुखाइ र टोकेको खत खासै नदेखिने हुनाले बिरामी र अभिभावकले समयमै पत्तो पाउँदैनन्, जसले गर्दा बिहानसम्म बिरामी गम्भीर अवस्थामा पुगिसक्छन्।

    जनचेतना एवं सावधानी नै मुख्य बच्ने उपाय

    सर्पले टोकेर मृत्यु तथा घाइते हुने घटना कम गर्न जनचेतना एवं सावधानी अपनाउनु नै मुख्य उपाय रहेको विज्ञहरुले जोड दिए।

    प्राधिकरणमा बिहीबार भएको छलफलमा विज्ञहरुले सर्पदंशबाट गरिब, कृषक एवं बालबालिकाहरु प्रभावित हुने गरेको उल्लेख गर्दै सर्पले टोकिहालेमा तत्काल अस्पताल एवं उपचार केन्द्रहरुमा लैजानुपर्नेमा जोड दिए।

    छलफलमा सर्पदंशबाट भइरहेको क्षति, मनसुनका बेला घटनाहरु बढ्ने कारण, टोकाइ कम गर्ने उपायहरु, सर्पले टोकेमा तत्काल गर्नुपर्ने कार्यहरु एवं सर्पदंश न्यूनीकरणका समाधानका उपायहरुबारे चर्चा गरिएको थियो।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेलले सर्पदंश उपेक्षित विपद् रहेको उल्लेख गर्दै सर्पको टोकाइलाई रोकथाम गर्न सकिने बताए।

    डा. पोख्रेलले सर्पको टोकाइको जोखिम न्यून गर्न स्थानीय समुदायलाई सचेत तथा बलियो बनाउनुपर्ने, सुरक्षित र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए।

    कार्यक्रममा धारणा राख्दै अन्य विज्ञहरुले स्वास्थ केन्द्रहरुसम्म पुर्याउने सडक पूर्वाधार एवं सवारी साधानहको व्यवस्था, स्वास्थ्यकर्मीहरुलाई तालिम, उपचार केन्द्रहरुबारे सर्वसाधारणमा जानकारी पुर्याउनु पर्ने धारणा राखेका थिए।

    सर्पको टोकाइबाट कसरी बच्ने? 

    आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने। ती कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने।

    झाडी, खेत वा अँध्यारो ठाउँमा हिँड्दा रबरको जुत्ता, हातमा पन्जा र बाक्लो कपडा लगाउने।

    रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती, टर्चलाइट वा लालटिन र लठ्ठी लिएर निस्कने।

    ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने। 

    घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने। जमिनका प्वालहरू भए पुर्ने।  

    सम्भव भएसम्म भुइँमा नसुत्ने। सुत्दा झुल लगाउने। घरका झ्याल ढोकामा जाली हाल्ने।

    रुख अथवा जमिनमा भएका प्वालहरूमा अनावश्यक रूपमा हात नछिराउने।

    भ्यागुता, मुसा, छेपारो आदि सर्पका आहारा हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने।

    बालबालिकाहरूलाई सर्प हुनसक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने।

    नजिकको स्वास्थ्य संस्था वा अस्पतालबारे जानकारी राखिराख्ने।

    सर्पले टोकेमा के गर्ने, के नगर्ने?

    छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।

    नआत्तिने, शान्त रहने। घाइते अङ्गलाई अनावश्यक रूपमा नचलाउने।

    टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने। 

    मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने।

    घडी, चुरा, औंठी, पेटी र पाउजु जस्ता चिजहरू खोल्ने, खोलिदिने।

    धामी झाँक्री, विष सोस्ने कालो ढुङ्‍गातिर लागेर समय नगुमाउने। 

    घाउमा कुनै पनि प्रकारको जडिबुटी, बरफ तथा औषधीको प्रयोग नगर्ने।

    चिकित्सकले नभनेसम्म केही नखाने, नपिउने।

    विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कसेरर नबाँध्ने, हल्का दबाब पर्नेगरी ब्यान्डेज बाँध्ने।

    सर्प देखिएमा के गर्ने?

    आतङ्कित वा उत्तेजित नभई बिस्तारै टाढा हट्ने।

    सर्पलाई ढुङ्‍गाले हान्ने वा मार्ने प्रयास नगर्ने।

    घरभित्र सर्प देखिएर उद्धार गर्नुपरे सुरक्षा निकाय, उद्धारकर्मी वा स्थानीय तहलाई खबर गर्ने। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend