काठमाडौँ। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमुख निर्वाचन आयुक्तमा कार्कीलाई नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको उल्लेख छ।
यसैगरी निर्वाचन आयोगको आयुक्तमा गुरु प्रसाद वाग्ले र डा. राजीव सुब्बालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्की मोरङका स्थानीय हुन् भने निर्वाचन आयुक्त वाग्ले ओखलढुङ्गा र सुब्बा काठमाडौँका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार तीनै जनाको नियुक्ति संवैधानिक परिषद्को सिफारिसअनुसार गरिएको हो।



