काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी जाँदै छन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्न पुगेका गृहमन्त्री गुरुङ आज सुनसरी जान लागेका हुन्। उनीसहित स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज पुग्ने छन्।
दुवै मन्त्रीले गत साउन १० गते सुनसरीमा भएको झडपका क्रममा मृत्यु भएका ओमप्रकाश मेहता र सोही घटनामा घाइते भई उपचारका क्रममा आज निधन भएका जयप्रकाश मेहताका परिवारजनसँग भेटघाट गर्ने तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो। दुवै मन्त्रीले स्थानीय स्थितिबारे जानकारी लिनुका साथै पीडित परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने छन्।



