काठमाडौँ। हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा बाँकी प्रदेशमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने, तराई भू-भागमा आंशिक बादल लाग्ने तथा देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको वर्षाको सम्भावना महाशाखाले जनाएको छ।
यसैगरी आज राति देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



