काठमाडौँ। हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा थोरै माथि तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। तराई भू-भागमा आंशिक बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ भने मधेश र कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
यसैगरी देशका हिमाली र पहाडी भू-भागका केही स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।



