मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सा शिक्षा आयोगका ४ निर्देशक छान्न शुक्रबार अन्तरवार्ता, कोको छन् प्रतिस्पर्धामा?

चिकित्सा शिक्षा आयोगका ४ निर्देशक छान्न शुक्रबार अन्तरवार्ता, कोको छन् प्रतिस्पर्धामा?

images
२०८३ श्रावण ७ गते, बिहिवार
२०८३ श्रावण ७ गते, बिहिवार
  • काठमाडौँ। चिकित्सा शिक्षा आयोगको ४ रिक्त निर्देशक पदका लागि भोलि शुक्रवार अन्तरवार्ता तोकिएको छ। आयोगको निर्देशकका लागि १२ जना संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका छन्।

    images

    कुल ४ निर्देशक पदका लागि बुधबार १२ जनाको नाम समेटिएको संक्षिप्त सूची बुधबार सार्वजनिक गरिएको थियो सूचीमा परेकाहरूलाई प्रस्तुतीकरण र अन्तरवार्ता कार्यक्रममा सहभागी हुन भनिएको छ।

    images

    सूचीमा पर्नेहरूमा नम्बर १ देखि १२ सम्म क्रमशः प्रा.डा. दयाराम पोखरेल, प्रा.डा. दिपेन्द्र बहादुर श्रेष्ठ, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. विनोद कुमार यादव, प्रा.डा. मुगेन्द्र अमात्य, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, प्रा.डा. विष्णु प्रसाद शर्मा, प्रा.डा. संघरत्न वज्राचार्य, प्रा.डा. सञ्जय कुमार श्रेष्ठ, प्रा.डा. सन्ध्या चापागाईं आचार्य, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधान छन्।

    प्रस्तुतीकरण तथा अन्तरवार्ताको समय क्रम संख्या अनुसार निर्धारण गरिएको छ। प्रस्तुतीकरण तथा अन्तरवार्ता कार्यक्रम भोलि शुक्रबार राष्ट्रिय योजना आयोगको बैठक कक्ष, सिंहदरबारमा हुने यसअघिकै सूचनामा उल्लेख छ।

    सर्ट लिस्टमा परेका १२ जना मध्ये शुक्रबार बिहान ८ बजे क्रम संख्या १ देखि ४ सम्मका उम्मेदवारहरुको अन्तरवार्ता हुनेछ।

    यस्तै बिहान ११ बजे क्रम संख्या ५ देखि ८ सम्मका उम्मेदवारहरूको अन्तरवार्ता हुनेछ भने शुक्रबार अपराह्न २ बजे ९ देखि १२ नम्बर क्रम संख्यामा परेकाहरूको अन्तरवार्ता हुनेछ।

    आयोगको निर्देशक पदमा नियुक्तिका लागि गत असार २६ गते दरखास्त आह्वान गरिएको थियो।

    नाम सिफारिस गर्न उम्मेदवार छनौटसम्बन्धी कार्यविधि, २०८३ बमोजिम चिकित्सा शिक्षा आयोगको निर्देशनालय र बोर्डको कामसँग सम्बन्धित दक्षता र सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल र व्यावसायिकता प्रदर्शन गरे वापतको प्राप्ताङ्क, कार्य अनुभव वापतको प्राप्ताङ्क र शोधपत्रको मूल्याङ्कन वापतको प्राप्ताङ्कको कुल प्राप्ताङ्कमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने १२ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक गरिएको हो।

    संक्षिप्त सूचीमा नाम रहेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तरवार्ता कार्यक्रममा आउँदा उम्मेदवारहरूले आवेदन साथ संलग्न सबै कागजातहरूको सक्कल प्रति, शोधपत्रको प्रस्तुतीकरण एवम् अन्तरवार्ताका लागि १५ मिनेट अवधिको पावर प्वाइन्ट स्लाइड (electronic copy) ल्याउन भनिएको छ। यस्तै तोकिएको समय भन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित हुन भनिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend