कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कमा आएका छन्।
उनीहरु सोमबार दिउँसो करिब १:१० बजे आफ्ना परिवारको सम्पर्कमा आएको र सबै १४ जना नै सकुशल रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र आइतबार च्याउ खोज्न भन्दै १४ जना महिलाको समूह प्रवेश गरेका थिए।
उनीहरू सोमबार बिहानसम्म पनि सम्पर्कविहीन रहेपछि सेना र प्रहरीको संयुक्त टोलीले खोजी जारी राखेको थियो।
च्याउ खोज्न जानेहरूमा बागफाँटाका कनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन्।
निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीका अनुसार उनीहरू भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेका थिए।



