मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गर्मीमा `स्वीमिङ´ गर्दा बालबालिकाको स्वास्थ्यमा हुनसक्छ जोखिम

गर्मीमा `स्वीमिङ´ गर्दा बालबालिकाको स्वास्थ्यमा हुनसक्छ जोखिम

images
२०८३ आषाढ २० गते, शनिवार
२०८३ आषाढ २० गते, शनिवार
  • काठमाडौँ। गर्मी मौसमको सुरुवातसँगै बालबालिकालाई शितलता प्रदान गर्न अभिभावकले पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ लैजाने क्रम बढेको छ। पछिल्लो समय गर्मी सँगै हप्तामा दुई दिन विदा हुँदा, विदाको सदुपयोग गर्नका लागि अधिकाशं बालबालिकाहरु पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ जाने गरेका छन्। विद्यालय बिदाको समयमा मनोरञ्जनका लागि पौडी खेल्न लैजाँदा बालबालिकाको स्वास्थ्यमा भने विभिन्न समस्याहरू देखिन थालेका छन्।

    images

    ग्राण्डी अस्पतालका बालरोग विशेषज्ञ डा सञ्जयराज थापा पछिल्लो समय अस्पतालका ओपिडीमा पौडी खेलेपछि बिरामी भएका बालबालिकाको संख्या उल्लेख्य मात्रामा बढेको बताउँछन्।

    images

    पौडी खेल्ने क्रममा बालबालिकाले अन्जानमै पोखरीको पानी निल्ने गर्छन्। पोखरीलाई सफा राख्न प्रयोग गरिने ‘क्लोरिन’ युक्त पानीले बालबालिकाको घाँटीमा एलर्जी गराउन सक्ने र पानी फोहोर भएमा घाँटी तथा फोक्सोमा संक्रमण हुने गरेको पाइएको छ। यसका साथै कानमा संक्रमण भई कान पाक्ने वा दुख्ने समस्या पनि उत्तिकै देखिएको छ।

    यस्तै, गर्मीका कारण पौडी पोखरीमा अत्यधिक भीड हुने गरेको छ। धेरै मानिसको उपस्थितिले गर्दा पानी फोहोर हुने र संक्रमणको जोखिम झन् बढ्ने डा थापाको भनाई छ।

    संक्रमण पछि बच्चाहरूलाई घाँटी दुख्ने, टन्सिलाइटिस, कानको संक्रमण र कहिले काहीँ छातीमा संक्रमण भई  निमोनिया पनि हुने गरेको छ। केही बच्चाहरूलाई उच्च ज्वरो आउने, छारेरोग जस्तै काम्ने र कहिलेकाहीँ उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने समेत हुन्छ।

    डा थापाले धेरै भीडभाड भएको पौडी पोखरीमा बालबालिकालाई नलैजान, बालबालिकालाई एक्लै पौडी खेल्न नछोड्ने र कसैको निगरानीमा मात्र पौडी खेलाउने, पौडी खेलिसकेपछि बालबालिकालाई सफा पानीले नुहाइदिने र कानहरू राम्रोसँग पुछिदिन र घाँटी वा कानमा समस्या देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिन सुझाव दिन्छन।

    गर्मीबाट बच्न पौडी खेल्नु राम्रो भएतापनि स्वास्थ्यको ख्याल नगर्दा बालबालिकाहरू लामो समयसम्म बिरामी पर्नसक्ने भएकाले सावधानी अपनाउन उनले सबै बालबालिका र अभिभावकलाई आग्रह गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend