काठमाडौं। कोरला नाका हुँदै भित्रिएको भनिएका बीवाईडीका ६ सय ४९ वटा ईभी गाडीमा भन्सार जाँचपासका क्रममा कुनै पनि अनियमितता नभेटिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
सो नाका हुँदै भित्रिएका ६४९ वटा ईभी गाडी सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा नियन्त्रणमा लिएको थियो। ती गाडी एकैपटक ठूलो संख्यामा ल्याइएको हुँदा वजेटमार्फत करको दर बढ्ने सूचना चुहावट भएपछि भित्राइएको हुनसक्ने सशस्त्रको आशंका थियो। तर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि अर्थ मन्त्रालयले पठाएको स्थलगत छानबिन समितिले ती गाडी भन्सार हुँदा कानुनी प्रक्रिया पूरा गरेरै आयात भएको ठहर गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा भन्सार विभागका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा गठित समितिमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहभागी थिए।
अनुगमन टोलीले मुस्ताङको कोरला नाकामा पुगेर अनुगमन पूरा गरेको र कुनै गडबडी नभेटेपछि बीवाइडीलाई मौखिक रुपमा `क्लिन चिट´ दिइएको प्रमुख भन्सार अधिकृत विदुर चुडालले जानकारी दिए।
‘छानबिन टोलीले स्थलगत पूरा गरेर फर्किसकेको छ, कुनै गडबडी नभेटिएपछि अनुगमन टोलीले मौखिक रूपमै क्लिन चिट दिएको हो।´ चुडालले भने।
गत जेठ १२ र १३ गते कोरला नाकाबाट कुल ७ सय ७५ वटा ईभी भित्रिएको बताइए पनि तीमध्ये ६ सय ४९ वटा बीवाईडी कम्पनीका ईभीको मात्र भन्सार पास गरिएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिए।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ती गाडीहरू नेपालको प्रचलित कानुन अनुसार विधि र प्रक्रिया पुर्याएरै ल्याएको बताउँदै आएको थियो। उसले भन्सार प्रक्रियाका सबै कागजात छानबिनका लागि उपलब्ध गराउन तयार रहेको समेत स्पष्ट पारेको थियो।
कोरोला नाका हुँदै बीवाईडीका २०९ वटा ‘एटो–१’ र ४४० वटा ‘एटो–२’ भेरियन्टका गाडी आयात भएका छन्। यी गाडीहरूबाट भन्सार कार्यालयले राजस्वबापत ८५ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ।
विगतमा मोटरको क्षमता (किलोवाट) का आधारमा विद्युतीय गाडीको कर दर निर्धारण हुने गरेकोमा जेठ १५ गते सार्वजनिक आगामी आर्थिक वर्षको बजेटले ईभीमा लाग्ने अन्तःशुल्क खारेज गर्दै नयाँ ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ थप गरेको छ।
सरकारले अब किलोवाटका आधारमा नभई गाडीको वास्तविक भन्सार मूल्यका आधारमा कर लगाउने घोषणा गरिसकेको छ। बजेटमार्फत करको दरमा हुन सक्ने सम्भावित हेरफेरको पूर्वसूचना वा अनुमानका आधारमा व्यापारीले कोरला नाकाबाट ठूलो परिमाणमा गाडी भित्र्याएको आशंका गरिएको छ।
अब छानबिन टोलीले स्थलगत रिपोर्ट बुझाएपछि मात्र त्यसबारे थप अध्ययन हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला बताउँछन्। यसका लागि निश्चित समय निर्धारण नभएकाले प्रतिवेदन कहिलेसम्म तयार हुन्छ भन्न नसकिने उनको भनाइ छ।
साइमेक्स इंकका अनुसार जेठ महिना सुरु भएदेखि बजेट आउनु अघिसम्म रसुवा र कोरला नाका हुँदै कुल १ हजार १ सय २१ वटा बीवाईडीका गाडी नेपाल भित्रिएका छन्। जसमध्ये रसुवा नाकाबाट मात्रै ‘एटो–१’, ‘एटो–२’, ‘एटो–३’ र ‘सिलायन–७’ मोडलका ४७२ वटा गाडी भित्रिएका हुन्।
आयात गरिएका ‘एटो–१’, ‘एटो–२’ र ‘एटो–३’ मोडलका गाडीहरू विलासी नभई मध्यमवर्गीय नेपाली उपभोक्ताहरूलाई लक्षित गरिएका सुरुआती रेन्जका सवारीसाधन भएको कम्पनीको भनाइ छ। नेपाली बजारमा यी गाडीहरूको मूल्य क्रमशः ३० लाख, ३४ लाख र ४६ लाख रुपैयाँको आसपासमा पर्ने र यो मध्यम वर्गले प्रयोग गर्ने ३० देखि ५० लाख रुपैयाँभित्रकै दायरामा रहेको व्यवसायीहरू बताउँछन्।
नयाँ बजेटद्वारा मध्यमवर्गीय कारमै कर वृद्धि
नयाँ बजेटले अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क थप गरेसँगै ईभीको करको भार पहिलेको तुलनामा केही बढेको छ। बजेटले निजी ईभी कार र सार्वजनिक यातायातका साधनमा कर बढाएको छ भने व्यावसायिक तथा ढुवानीका साधनहरूलाई सहुलियत दिएको छ।
उपभोक्ताहरूको अत्यधिक रोजाइमा पर्ने विद्युतीय कार, जिप र भ्यान खण्डमा सरकारले कर निर्धारणको आधार नै परिवर्तन गरिदिएको छ।



