मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दूषित खाद्यवस्तुका कारण हरेक वर्ष ४ लाख २० हजार ब्यक्तिको ज्यान जाँदै, ६० करोड बढी बिरामी

दूषित खाद्यवस्तुका कारण हरेक वर्ष ४ लाख २० हजार ब्यक्तिको ज्यान जाँदै, ६० करोड बढी बिरामी

images
२०८३ जेठ २४ गते, आइतवार
२०८३ जेठ २४ गते, आइतवार
  • काठमाडौँ। दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। यो तथ्यांक विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को हो। यति ठूलो संख्यामा बर्सेनि दूषित खाद्यवस्तुका कारण मानिसहरू बिरामी हुँदा वर्षमा ४ लाख २० हजारको अकालमा नै ज्यान जाने गरेको छ।

    images

    मानिसले उपभोग गर्ने खाद्य पदार्थहरु भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुन नसक्दा यो अवस्था बढ्दै गएको विश्व स्वास्थ्य संगठनको दाबी छ।

    images

    डब्ल्युएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ। 

    यसैगरी खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो अवस्थाले दूषित खाद्यवस्तुको जोखिम स्वास्थ्यको विषय मात्र होइन, सामाजिक र आर्थिक न्यायसँग पनि गाँसिएको देखिन्छ।

    महँगी, बेरोजगारी र कमजोर क्रयशक्तिका कारण श्रमिक परिवारहरू प्रायः सस्तो तथा गुणस्तरहीन खाद्यवस्तु उपभोग गर्न बाध्य हुने गरेको पाइन्छ। बजारमा म्याद नाघेका, रासायनिक पदार्थ मिसाइएका तथा अस्वच्छ वातावरणमा उत्पादन गरिएका खाद्य सामग्रीको प्रयोगले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ भने उनीहरू बेरोजगार बन्ने र रोगको उपचारमा थप बोझ थपिने गरेको छ।

    पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ।

    विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा कायम गर्न उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलालाई कडाइ गर्न आवश्यक छ। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

    आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै

    सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको थियो। सोहीअनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।

    यो दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन्।

    दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड दिइएको छ। सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ।

    ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबिचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

    श्रमजीवी वर्गका लागि सुरक्षित र गुणस्तरीय खाद्यमा पहुँच अझै चुनौतीकै विषय बनेको छ। स्वास्थ्य, श्रम उत्पादकत्व र मानव जीवनको सुरक्षासँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षालाई राज्यको प्राथमिक नीतिगत एजेन्डा बनाइनुपर्ने आवाज समेत उठ्दै आएको छ।

    सुरक्षित खाद्यवस्तु कुनै विलासिता होइन, प्रत्येक नागरिकको आधारभूत अधिकार हो भन्ने नीतिका साथ सरकारले जनताको यो अधिकार सुनिश्चित गर्न पहलकदमी लिन आवश्यक छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend