मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्यान्सरको औषधिको अभाव बढ्दै : बिरामीको गुनासो पाएनौं, आयातकर्ता भन्छन् गोदाममै सकियो

क्यान्सरको औषधिको अभाव बढ्दै : बिरामीको गुनासो पाएनौं, आयातकर्ता भन्छन् गोदाममै सकियो

images
२०८३ जेठ २१ गते, बिहिवार
२०८३ जेठ २१ गते, बिहिवार
  • काठमाडौँ। नेपालमा क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव फेरी बढ्न थालेको छ। औषधिको अभाव हुँदा किमोथेरापी गराइरहेका बिरामी  समस्यामा परेका छन्।

    images

    क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा क्यान्सर रोगको किमोथेरापीमा प्रयोग हुने औषधिको अभाव देखिएको हो। यी अस्पतालमा किमोथेरापी उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरुको अभाव भएको छ।

    images

    वीर अस्पतालमा फोक्सोको क्यान्सरको उपचार गराइरहेका नुवाकोटका रुद्र सुवेदी (३४) ले कार्बोप्लाटिन नपाउँदा पटकपटक समस्या भोग्दै आएको गुनासो गरे।

    `एक वर्षदेखि फोक्सोको क्यान्सर भएर वीर अस्पतालमा उपचार गर्दै आएको छु, अहिले मलाइ भएको क्यान्सर चौंथो स्टेजमा छ, तर औषधि पाइदैन, हिजो औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई फोन गरेपछि उपलब्ध भयो, फेरि असारको ९ गते किमो दिनु पर्ने छ, दु:ख पाइन्छ, औषधि जतिखोज्दा पनि पाइदैन, वीरमा पहिला देखिनै पाइएन, अहिले पनि छैन, हामीले कहाँबाट ल्याउने?, सरकारले सुनिदेओस।´ फोक्सोको क्यान्सरबाट पीडित सुवेदीले एक्सरे नेपालसँगको संवादमा भने।

    काठमाडौँ क्यान्सर सेन्टर भक्तपुरमा फोक्सो सम्बन्धि क्यान्सरकै उपचार गराउँदै आएका काभ्रे पनौतीका अर्का क्यान्सरका बिरामीले पनि सुवेदीकै जस्तै समस्या सुनाए।

    `६ महिनादेखि किमोथेरापी गराउँदै आएको छु, हप्तै पिच्छे किमो चढाउनु पर्छ, हिजो बक्लतल्ल ल्याइयो, एकातिर क्यान्सरले थलायो,अर्को तिर औषधि नपाउँदा चिन्ता बढेको छ, पैसा तिरेर किन्न पनि नपाइने भयो, पीडा माथि पीडा थपिएको छ।´ नाम उल्लेख नगर्ने बताउँदै उनले गुनासो पोखे।

    विगत देखि नै अभाव

    चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव भएको गत वर्षको चैत देखि नै हो। तर तीन महिना बित्दा पनि बिरामीले सहज रुपमा औषधि पाएका छैनन्। औषधि नपाउँदा किमो चढाउनै पर्ने कतिपय बिरामी अस्पताल पुगेर फर्किने गरेका छन्।

    `चैत देखिनै अस्पतालमा कार्बोप्लाटिन, सिस्प्लाटिन अभाव छ, बिरामीले अस्पतालको फार्मेसीमा उपलब्ध नहुँदा बाहिरैबाट ल्याएपछि हामीले लगाइदिने गरेका छौं, तर कतिपय बिरामी औषधि नपाउँदा किमो नचढाइ नै फर्किने गर्नु भएको छ, कसैले दुई वटा किमो लाउनु पर्नेमा एउटा मात्र पनि लिएर फर्किने गर्नु भएको छ।´ ती चिकित्सकले भने।

    भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेले पनि क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधिको अभाव भोग्नु परिरहेको जानकारी दिए। 

    `किमोथेरापीबाट उपचार गर्दा अरु औषधिमा मिसाउन प्लाटिनम समुहका औषधि आवश्यक पर्छ, कम्तीमा तीन औषधिमध्ये एउटा मिसाएर किमोथेरापीमार्फत क्यान्सर रोगको उपचार गर्नुपर्ने हुन्छ, अहिले बिरामीले औषधि सहज रुपमा पाउने अवस्था छैन, औषधि अभावले बिरामीको उपचारमा ठूलो असर परिरहेको छ।´ भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले भने।

    द्वन्दको असर, ११ वर्षदेखि मूल्य समायोजन नहुँदा समस्या

    नेपालमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि भारत लगायतका तेस्रो मुलुकबाट आयात हुँदै आएको छ। पछिल्ला केही समयदेखि पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चापदार्थमा भएको भारी मूल्य वृद्धि र ढुवानीमा बढेको लागतका कारण नेपालमा पुरानो मुल्यमा औषधि आयात गर्न समस्या हुँदै आएको नेपाल औषधि आयातकर्ता संघ (मीयान) ले जनाएको छ।

    संघका अध्यक्ष पवन आचार्यले औषधिको अभावको अवस्था बारे सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराइएको तथा विकल्प समेत दिइएको बताए।

    `हामीले अभाव हुने अवस्था छ भनेर पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं, सकेसम्म बिरामीलाई उपलब्ध गराउन हामी पनि लागि पर्यौं, तर अब गोदाममा एक भायल पनि छैन, यो अवस्थाको जानकारी हामीले सम्बन्धित पक्षलाई दिइसकेका छौं, आयात भएको र बिरामी पक्षलाई दिइएको सबै तथ्यांक हामीसँग छ, अब औषधि छैन।´ आचार्यले भने।

    आचार्यले औषधि अभाव हुँदा बिरामी र बिरामीका आफन्तको फोन उठाउन सकिने अवस्थासम्म पनि नरहेको सुनाए। 

    आचार्यका अनुसार उल्लेखित औषधीहरुको मूल्य लामो समयदेखि समायोजन हुन नसक्दा, विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि तथा पश्चिम एशियामा देखिएको द्धन्दका कारण ढुवानी, बीमा, उत्पादन तथा आपूर्ति श्रृङ्खलामा गम्भीर असर परेको छ।

    संघले २०७२ देखि औषधीको मूल्य समायोजन नभएको भन्दै सरकारलाई आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन तर्फ लाग्न पनि आग्रह गर्दै आइरहेको छ।

    आगामी दिनमा पुन: अभाव हुने अवस्था आउन नदिन स्वचालित मुल्य समायोजन बिधी अपनाउनु पर्ने संघले बताउँदै आइरहेको छ। यो विधि अपनाउँदा आयात गरिने देशमा मूल्य बढ्दा नेपालमा पनि  बढ्ने तथा घट्दा तत्काल घट्ने अवस्था रहने जसले अभावको स्थिति नहुने संघको बुझाइ छ।

    औषधि ब्यवस्था विभाग नै भन्छ : मूल्य समायोजन नहुँदा समस्या

    औषधि ब्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले अन्तरराष्ट्रिय रुपमा ती औषधिको मूल्य बढेको र नेपालमा समायोजना गर्न नसकिएको हुँदा अभाव भएको बताए। उनले अबको केही दिनमा नै आवश्यक निर्णय नभए बिरामीले थप समस्या भोग्नु पर्ने अवस्था आउन सक्ने बताए।

    `अहिले देखिएको समस्याको वर्तमान अवस्था बारे मन्त्रालयमा हामीले जानकारी गराइसकेका छौं, यो समस्या विश्वब्यापी रहेछ, पश्चिम एसियायी मुलुकमा भएको द्वन्द्वका कारण कच्चापदार्थको मूल्य वृद्धि हुँदा नेपालमा पनि आयातमा समस्या भएको देखियो, विगतमा निर्धारण गरिएको मूल्य समायोजन नहुँदा पनि समस्या बढेको रहेछ, औषधि ब्यवस्था विभागले अवस्थाको ब्रीफिङ सहित मन्त्रालयलाई विकल्प दिएको छ।´ बज्राचार्यले भने।

    तुरुन्तै केही न केही निर्णय गर्नै पर्ने छ : मन्त्रालय 

    स्वास्थ्य तथा खाद्यस्वच्छता मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, सूचना अधिकारी डा. भक्त बहादुर केसीले क्यान्सरको औषधिको अभाव भएको स्वीकार्दै खपतको वास्तविक अवस्थाको जानकारी लिइएको बताए। 

    `सप्लाइ चेनमा समस्या आएको रहेछ, मन्त्रालयले खपतको अवस्था बुझ्ने काम गरेको छ, विभिन्न चरणमा छलफल भएका छन्, तुरुन्तै केही न केही निर्णय गर्नै पर्ने छ।´ केसीले भने।

    उनले २०७२ सालमा भएको निर्णय अनुसार तोकिएको मूल्यमा अहिले औषधि आयात गरेर अस्पताललाई उपलब्ध गराउन सकिने अवस्था नरहेको आयातकर्ताहरुको गुनासो रहेको पनि बताए।

    `पहिले भएको टेन्डर अनुसार तोकिएको मूल्यमा औषधि दिन सक्दैनौ भन्ने आयातकर्ताहरुको गुनासो छ, पहिले टेन्डर भइसकेका अस्पतालमा अधिकतम खुद्रा मुल्यमा नै भए पनि उपलब्ध गराउने गरेर आहयोग गरिदिनुस भनेका छौं, अब केही न केही निर्णय गर्नु पर्ने छ, सप्लाइ चेनमा समस्या नहुने गरेर निर्णय लिनु पर्छ।´ केसीले अगाडि थपे।

    क्यान्सरको औषधि अभावका बारे प्रधानमन्त्री कार्यालयलाई पनि स्वास्थ्य मन्त्रालयले जानकारी गराइसकेको छ। औषधि ब्यवस्था विभागले समेत प्रधानमन्त्री कार्यालयलाई यो बारे जानकारी गराइसकेको बताइन्छ।

    अभावकै बीच आयातकर्ताले एक साता अघि बंगलादेशबाट केही औषधि आयात गरेर बिरामीलाई चिकित्सकको सिफारिसका आधारमा उपलब्ध गराएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend