काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
रास्वपा सभापति लामिछानेले बुधबार दिउसो भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समार्फत जानकारी दिएका छन् ।
`राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।´ एक्समार्फत मोदीले भनेका छन्।
सो भेटवार्तामा भारतीय पक्षबाट मोदीसँगै विदेशमन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारी सहभागी थिए।
यसैगरी भेटवार्तामा नेपाली टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी थिए। वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी थिए।



