काठमाडौं। दशैं आएसँगै देशभर आवश्यक खाद्य सामग्रीको जोहो गर्न सबैलाई भ्याइ नभ्याइ छ। नयाँ कपडा किनमेल गर्नेदेखि घरमा मरमसला जोरजाम गर्नका लागि यतिबेला सबैलाई हतारो छ। दशैंका लागि खसी, बोका, च्याङ्ग्रा किन्नका लागिसमेत सर्वसाधारणहरु पायक पर्ने ठाउँमा धाउन थालिसकेका छन्।
काठमाडौंमा पनि खसी, बोका, च्याङ्ग्राको खोजीमा निकिनेहरु देखिन थालेका छन्। काठमाडौंको भृकृटीमण्डपमा रहेको खसी बजार, कलंकीको खसी बजार, बालाजु माछापोखरी, चाबहिल तरकारी बजार, जडीबुडी तथा भक्तपुरको सल्लाघारी चौरमा खसी, बोका, च्याङ्ग्राको विक्री हुने गर्छ।
सरकारी तवरबाट काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि खसी, बोका, च्याङ्ग्राको विक्री गर्ने तयारी गर्दैछ। कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुटसहित विक्री गर्ने भएको हो। कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट विक्रीका लागि राखिएका खसी, बोका, च्याङ्ग्रा खरिद गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ निर्धारण गरेको छ। तर छुट उपलब्ध गराउँदा एक किलोको ६६० रुपैयाँ पर्नेछ।
यसैगरी कम्पनीले च्याङ्ग्रा प्रतिकिलो एक हजार २३० रुपैयाँमा बिक्री गर्ने तयारी गरेको छ। सो सूल्य गत वर्ष भन्दा ३० रुपैयाँ प्रतिकिलोमा सस्तो हो।
कम्पनीले १५ सय खसी, बोका, च्याङ्ग्रा बिक्रीका लागि मकवानपुर, दाङ, कैलाली, मुस्ताङसहित देशका पहाडी तथा तराइका विभिन्न स्थानबाट काठमाडौं ल्याइसकिएको जनाएको छ। यस्तै यसपटकको दशैंका लागि कम्पनीले तीन सय च्याङ्ग्रा ल्याइएको जनाएको छ।
थापाथलीस्थित कम्पनीको कार्यालयमा नवमीको दिनसम्म कार्यालय समयमा खसी, बोका च्याङ्ग्रा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यस्तै व्यापारीहरुले नीजि रुपमा ल्याएका खसी, बोका च्याङ्ग्रा भने भृकृटीमण्डपमा रहेको खसी बजार, कलंकीको खसी बजार, बालाजु माछापोखरी, चाबहिल तरकारी बजार, जडीबुडी तथा भक्तपुरको सल्लाघारी चौरमा पुगेर किन्न सकिन्छ।



