काठमाडौँ। एउटा अध्ययनले नेपालमा ठूलो संख्यामा बालबालिकाहरु सुर्तीजन्य पदार्थ `चुरोट´को लतमा फस्दै गरेको देखाएको छ।
‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आइतबार स्वास्थ्य सेवा विभागद्वारा आयोजित एक कार्यक्रममा यो तथ्य सार्वजनिक भएको हो। जसअनुसार नेपालमा विद्यालय तहमा पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले गरेको अध्ययनमा सातवटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने तीन हजार बालबालिकालाई समेटिएको थियो। अध्ययनमा १० वर्षमुनिका बालबालिका पनि चुरोट सेवनमा लागेको पाइएको उनले जानकारी दिए
अध्ययन प्रतिवेदन अनुसार ५७ प्रतिशत मानिसले बिहान उठ्नबित्तिकै चुरोट खाने गरेको, र ७४ प्रतिशत सेवनकर्ताले चुरोट छाड्न कोशिस गरे पनि नसकिरहेको बताएका थिए।
नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थको सेवनका कारण ३९ हजार दुई सय ब्यक्तिको ज्यान जाने गरेको छ। सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि नेपालमा वर्षेनी ४५ अर्बभन्दा धेरै खर्च हुने गरेको छ।
यसैगरी दक्षिणपूर्वी एसियामा मात्रै करिब ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोरकिशोरीले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। यस क्षेत्रका २८ करोड ८० लाखभन्दा बढी मानिसले धूमपानरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्याङ्क छ। जुन विश्वव्यापी कुल प्रयोगकर्ताको झन्डै ८० प्रतिशत हो।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का, भेपजस्ता स्वादिलो र मिठास सुगन्ध आउने ‘फ्लेवर’ राखेर बिक्री गर्ने गरेको पाइएको बताए।
उनले हाल किशोर किशोरीमा चुरोट, भेप र हुक्काको आकर्षण बढेकाले अभियान सञ्चालन गरेर रोक्नुपर्ने धारणा राखे। डा श्रेष्ठले भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको सेवन नगर्नसमेत आग्रह गरे। उनले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
“मुलुकलाई सुर्तीमुक्त अभियान सञ्चालन गरेर मुटु, फोक्सो, मिर्गौला र क्यान्सरजस्ता रोगको उपचारमा लाग्ने खर्च जोगाउन सकिन्छ। यसमा सबैले ध्यान दिनुपर्छ”, श्रेष्ठले भने।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले सुर्तीजन्य पदार्थ सामाजिक विष रहेकाले सबैको सहयोगबाट यसलाई रोक्न सकिने बताए। “सुर्तीजन्य पदार्थ एकप्रकारले सामाजिक विष नै हो। यसलाई सबै मिलेर समाजबाट हटाउनुपर्दछ”, उनले भने।
निमित्त महानिर्देशक डा भट्टचनले सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रण गर्न सरकार लागिपरेको र यसमा सबैको साथ आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आफ्नो घरमा कोही सुर्तीजन्य पदार्थ सेवनकर्ता छ भने सो लत छोडाउन आग्रह गरे।
“आफ्नो घरमा कसैले सुर्तीजन्य पदार्थ सेवन गर्दछन् भने पहिलो तिनीहरूलाई छोडाऔँ। विस्तारै सामाजका अन्य व्यक्तिलाई पनि यस कार्यमा नलाग्न सचेत गराऔँ”, उनले भने।
स्वास्थ्य अभियन्ता शान्तराज मुल्मी, डा जयकुमार गुरुङ, ज्योति बानियाँले युवालाई सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिए।
‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ आज दिवस मनाइएको हो।
धूमपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेहजस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको पाइन्छ। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वमा ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ।



