काठमाडौँ। अफ्रिकी मुलुक कंगो र युगाण्डामा इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्व स्वास्थ्य सङ्कटकालको घोषणा गरेको छ।
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोलाका कारण ८० भन्दा बढी ब्यक्तिको मृत्यु भएको छ भने हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा सङ्क्रमणको शङ्का गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
तीव्र रूपमा फैलिँदै गएको इबोलाले अन्तर्राष्ट्रिय रुओअमा नै जोखिम बढाएको डब्लुएचओको भनाइ छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ।
इबोला फैलिएपछि स्वास्थ्य सहायता संस्थाहरूले ती देशमा ठुलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको र हाल युगान्डा र दक्षिण सुडानसम्म पुगेको बताइएको छ। इबोलाको प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ
डब्लुएचओले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले ‘सङ्क्रमित व्यक्तिहरूको वास्तविक सङ्ख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको’ भनेका छन्।
इबोलाको अहिलेको स्ट्रेन बुन्डिबुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्लुएचओले त्यसको औषधी वा खोप नरहेको उल्लेख गरेको छ। डब्लुएचओका अनुसार प्रयोगशालाबाट प्रमाणित भएका अहिले आठ जना सङ्क्रमित छन् भने इटुरी प्रान्तको राजधानी बुनिया, सुनखानी रहेका मोङ्गावालु र र्यावाम्पारा नगरसहितका क्षेत्रमा अरू शङ्कास्पद बिरामी तथा मृत्युका घटना पाइएका छन्।



