काठमाडौँ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि संघको अध्यक्ष पदमा डा. बद्री रिजाल विजयी भएका छन्।
निर्वाचन परिणाम अनुसार पदाधिकारीतर्फका सबै पदमा डा. रिजालको प्यानल नै विजयी भएको छ। संघको निर्वाचनमा डा. रिजालले प्रजातान्त्रिक समूहको नेतृत्व गरेका थिए।
निर्वाचनमा कुल ७ हजार १०१ मत खसेको थियो भने दुई चरणमा गरि निर्वाचन सम्पन्न भएको थियो। अन्तिम परिणाम अनुसार डा. रिजालले अध्यक्ष पदमा ३ हजार १९६ मत प्राप्त गर्दै विजयी बनेका हुन्। यस्तै उनका निकटतम प्रतिद्वन्दी डा. मंगल रावलले २ हजार ९४० मत प्राप्त गरेका छन्।
संघको नयाँ नेतृत्व चयन गर्न वैशाख १८ र १९ गते काठमाडौँ उपत्यकामा मतदान सम्पन्न भएको थियो भने त्यस अघि वैशाख ४ र ५ गते उपत्यका बाहिर मतदान भएको थियो।
संघको नेतृत्वका लागि निर्वाचनमा डा. रिजाल, डा. रावल र डा. नारायण भुषालको तीन वटा प्यानल प्रतिस्पर्धामा थियो। डा. भुसालले भने ८६९ मत प्राप्त गर्दै तेस्रो बनेका छन्। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यसैगरी वरिष्ठ उपाध्यक्ष तर्फ डा. संजीव तिवारी विजयी बनेका छन्। उनले ३ हजार ३६ मत प्राप्त गर्दा डा. किर्तिपाल सुवेदीले २ हजार ३०२ मत पाएका छन्। यस्तै डा. अजय कुमार मिश्रले १ हजार ४२१ मत पाएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित तिवारी बद्री प्यानलकै हुन्।
यसैगरी महासचिव पदमा पनि डा. बद्रीकै टिमका उम्मेदवार विजयी भए। सो पदमा डा. विश्वराज दवाडीले २ हजार ७२२ मत पाएका छन्। उनी डा. बद्री टिमका हुन्। यसैगरी डा. कालुसिंह खत्रीले २ हजार ४२३, र डा. अमृत भुसालले १ हजार ६४६ मत ल्याएका छन्।
कोषाध्यक्ष पदमा समेत डा. बद्री समुहका डा. संयुक्ता आचार्य विजयी भए। उनले ३ हजार १८६ मत पाएका छन भने उनी पछि रहेका डा.चाँदनी जयसवालले २ हजार ९९ मत पाएकी छन्। यस्तै सोही पदका अर्का उम्मेदवार बिनोद कुमार महासेठले ९७४ मत पाएका छन्।
यसैगरी सहसचिव पदमा डा. हुलास अग्रवाल विजयी भए। उनले ३ हजार ५१० मत पाएका छन्। सोही पदमा उम्मेदवार बनेका डा. रम जीवन प्रसादले १ हजार ५४० र डा. सन्तोष अधिकारीले १ हजार ४१६ मत पाएका छन्।
यस्तै सहकोषाध्यक्ष पदमा डा तेज्सुसिंह मल्लले ३ हजार २७९, डा सुवास गुरुङले २ हजार २९४ र डा राजकुमार दंगालले ८५० मत पाएका छन्।
निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यकामा कुल २ हजार ८५८ मत खसेको थियो। यसैगरी उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। यसपटकको निर्वाचनमा कुल १६ हजार १०० चिकित्सक मतदानका लागि योग्य मानिएका थिए। यसपटक खसेको मत कुल सदस्य संख्याको ४४.११ प्रतिशत हो।
संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। जस अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।



