काठमाडौँ। ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ अध्यादेश जारी हुँदा पद जोगिएका नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले राजीनामा दिएका छन्।
पाण्डेले मंगलबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको बारे जानकारी गराएका छन्।
‘आज र अहिले बाटै म आफुलाइ नेपाल फार्मेसी परिषद्को सम्पुर्ण जिम्मेवारी बाट अलग राख्द्छु,’ पाण्डेले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

उनले आफुले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र सचिव डा. विकास देवकोटालाई पदबाट अलग भएको जानकारी गराईसकेको पनि जानकारी दिए। आफुले अध्यादेश मार्फत पद जोगिए पनि सरकारलाई सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताए।
यसअघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ अध्यादेश जारी हुँदा उनको पद जोगिएको थियो। सो अध्यादेश जारी भएपछि विभिन्न निकायका १ हजार ५९४ जना पदाधिकारी पदमुक्त भएका थिए। राष्ट्रपति पौडेलले बैशाख १९ बैशाख गते सो अध्यादेश जारी गरेका थिए।
अध्यादेश जारी भएपछि स्वास्थ्य तर्फ स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य बीमा बोर्डका पदाधिकारी मात्रै होईन नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल नर्सिङ परिषद् लगायतका संस्थाका अध्यक्ष, सदस्य र रजिष्ट्रार समेत पदमुक्त भएका थिए भने फार्मेसी परिषद्को रजिष्ट्रार बाहेक अध्यक्ष र सदस्यहरु पदमुक्त भएका थिए।



