काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले पालिका, जिल्ला, प्रदेश र केन्द्रको गरि चार तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी असार २४ र २५ गते हुँदैछ।
यस्तै रेडक्रसले पहिलो चरणमा यही वैशाख २६ देखि जेठ ४ गतेसम्म देशैभरका पालिका शाखा समितिको निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ। जेठ १५ गते जिल्ला शाखा समिति र असार २ गते सात वटै प्रदेश समिति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीले संस्थाको विधान २०२० (अठारौँ संशोधन, २०८२ सहित) तथा निर्वाचन नियमावली, २०४९ (चौथो संशोधन २०८२ सहित) सबै पालिकास्तरमा पालिका शाखा, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सोसाइटीका महामन्त्री मल्लले जानकारी दिए।
सरकारले सधैँ विवाद हुँदै आएको सोसाइटीमा यसपटक विनोदकुमार शर्माको नेतृत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने कार्यभार तोकेको थियो।
सोही कार्यभारअनुसार सोसाइटीका सबै निकायको निर्वाचन गर्ने तयारीमा रहेको महामन्त्री मल्लले बताए। रेडक्रस सोसाइटीको संशोधित नयाँ विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी पटक कार्यसमितिमा बस्न नपाइने नयाँ व्यवस्था छ। नयाँ नेतृत्व चयन भएपछि रेडक्रसका लामो समयदेखि रहँदै आएको अन्योल हट्ने अपेक्षा छ।



