मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एसइई आजबाट, पाँच लाख १२ हजार ४७१ विद्यार्थी सहभागी हुँदै

एसइई आजबाट, पाँच लाख १२ हजार ४७१ विद्यार्थी सहभागी हुँदै

images
२०८२ चैत्र १९ गते, बिहिवार
२०८२ चैत्र १९ गते, बिहिवार
  • काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदैछ। यस वर्ष पाँच लाख १२ हजार ४७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। एसइई परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।

    images

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले यस वर्ष एसइई परीक्षाका लागि देशभरका एक हजार ९६५ वटा र जापानमा एउटा गरी कुल एक हजार नौ सय ६६ परीक्षा केन्द्र तोकिएको जानकारी दिए।

    images

    उपनियन्त्रक ज्ञवालीका अनुसार परीक्षामा ११ हजार ३७० विद्यालयका विद्यार्थी सहभागी हुने छन्। सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन्।

    काठमाडौंका एक सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन्। जापानमा रहेका केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुँदै छन्।

    कुन प्रदेशबाट कति विद्यार्थी?

    बोर्डका अनुसार यस वर्ष कोशी प्रदेशमा ८२ हजार ४८७,  मधेसमा ९० हजार २४३, बागमतीमा एक लाख नौ हजार ५१३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२,  कर्णालीमा ३९ हजार ७६९ र सुदूरपश्चिममा ५४ हजार ६३५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

    ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ विद्यार्थी

    यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ जना विद्यार्थी परीक्षामा सहभागी हुने उपनियन्त्रक ज्ञवालीले बताए। एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको छ। २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थी परीक्षामा सहभागी हुने उनको भनाइ छ।

    एक पटक परीक्षा दिएर सफल हुन नसकेका विद्यार्थीलाई कम्तिमा तीन पटक मौका दिने गरिएको छ। पहिलो पटक पास नभएका विद्यार्थीलाई पूरक मौका दिइन्छ। पूरकका पनि पास नभएका विद्यार्थीले तीन पटक परीक्षा दिन पाउँछन। २०७९ सालमा नियमित समूहबाट परीक्षा दिएर अहिलेसम्म सफल नभएका विद्यार्थीलाई परीक्षा फारम भर्ने अवसर दिइएको हो।

    बाल सुधार गृहका विद्यार्थीलाई यस्तो व्यवस्था

    यसपटक परीक्षामा बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ।

    बालगृह नजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको हो।

    परीक्षा सकिएपछि सङ्कलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरु परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ।

    अपाङ्गता भएका विद्यार्थीलाई लेखन सहयोगी

    यसैगरी विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई  उनीहरुको आवश्यकता अनुसार परीक्षा दिन मिल्ने गरि व्यवस्थापन गरिएको छ।

    अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उपनियन्त्रक ज्ञवाली बताउँछन्। उनीहरूका लागि थप समयको समेत ब्यवस्थापन गरिएको छ। तीन घण्टाको परीक्षामा उनीहरूलाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ।

    यसैगरी लेखन सहयोगी आवश्यक परेमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने छ। लेखन सहयोगी विद्यार्थीलाई भने विद्यालयले प्रमाणित गर्नुपर्ने र उनीहरुलाई छुट्टै कक्षाको व्यवस्था गर्नेगरी तयारी गरिएको हो।

    उपनियन्त्रक ज्ञवालीले विद्यार्थीलाई परीक्षा केन्द्रमा समयमै उपस्थित हुन, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइल लगायत निषेधित सामग्री नल्याउन आग्रह गरे।

    एक महिनाभित्रै नतिजा

    परीक्षा नियन्त्रण कार्यालयले यसपटक परीक्षाको नतिजा एक महिनामा नै प्रकाशित गर्ने गरि तयारी गरेको छ।उपनियन्त्रक ज्ञवालीले सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको बताए।

    उनका अनुसार यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ।  परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय एकाईमा पठाउने व्यवस्था गरिएको हो। शिक्षा विकास तथा समन्वय एकाईले तोकिएको समयमा लब्धांकपत्र परीक्षा नियन्त्रण कार्यालय पठाउनेछ। 

    “विगतमा जस्तो परीक्षा सकिएपछि नजिता धेरै दुई, तीन महिना नै कुर्नुपर्दैन। अहिले सरकारले द्रुत गतिमा नतिजा प्रकाशन गर्ने भनेर हामीलाई निर्देशन प्राप्त भएको छ। हामीले कम्तीमा एक महिनाभित्रै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेका छौँ।´´ ज्ञवालीले भने।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend