हुम्ला। हुम्लामा किशोरीहरु कम उमेरमा नै सुत्केरी हुने गरेको पाइएको छ। हुम्लामा २० प्रतिशत भन्दा बढी किशोरीहरु कम उमेरमा अर्थात १९ वर्ष मुनि नै आमा बन्ने गरेको पाइएको हो।
उमेर नपुग्दै विवाह हुँदा यो समस्या बढ्दै गएको हो। जसका कारण किशोरीहरुको स्वास्थ्यमा समेत गम्भीर समस्या देखिने गरेको छ भने जन्मने शिशुको समेत स्वास्थ्यमा जोखिम हुने गरेको छ।
हुम्लामा यो अवस्थालाई तथ्यांकले देखाएको स्वास्थ्य सेवा कार्यालयका तथ्याङ्क सहायक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २० प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको तथ्यांक छ।
यो अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा ५५६ जना सुत्केरी भएकामध्ये ११२ जना किशोरी १९ वर्षमुनिका रहेको श्रेष्ठले जानकारी दिए। चालु आवको पाँच महिना अझै बाँकी नै भएका कारण उक्त उमेर समूहमा सुत्केरी हुने किशोरीको सङ्ख्या अझै वृद्धि हुने उनी बताउँछन्। जबकि अघिल्लो आव २०८१/८२ मा यो उमेर समूहका सुत्केरी हुने किशोरीको सङ्ख्या १३७ जना थियो भने त्योभन्दा अघिल्लो आवमा १०७ जना थिए।
हुम्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ३७ जना रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।



