काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उक्त दलको संसदीय दलको नेता बन्दै छन्।
रास्वपाले आज बालेनलाई संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल गर्न आज ४ बजे पार्टीको केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। बैठकबाट निर्णय गराएपछि संसदीय दलले आजै उनलाई दलको नेता चुन्ने छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकबाट बालेनलाई रास्वपाले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्ने विषयमा निर्णय गर्नेछ। बैठक बनस्थलीस्थित घण्टी घरमा बस्दै छ।
केन्द्रीय समितिको बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ। संसदीय दलको बैठकले शाहलाई दलको नेता बनाउने छ। आजै प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुँदैछ।
रास्वपाले प्रतिनिधि सभा निर्वाचन अघिनै वरिष्ठ नेता शाहलाई पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तय गरेको थियो। गत पुस १३ गते बालेनसँग भएको ७ बुँदे सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो।
गत फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्। उनी भोलि चैत १३ गते प्रधानमन्त्री नियुक्त हुँदैछन्।



