काठमाडौँ। प्रतिनिधि सभामा नव निर्वाचित सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरि २७५ जना सदस्य निर्वाचित भएका छन्।
त्यसमध्ये निर्वाचित जेष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार नै पद तथा गोपनियताको शपथ लिइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
आज उनले नै २७४ जना सदस्यहरूलाई शपथ गराउने छन्। शपथ कार्यकमका लागि सङ्घीय संसद् सचिवालयले सबै तयारी गरिसकेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
सचिवालयका अनुसार चैत आज बिहीबार दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको शपथ हुनेछ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।
शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने सचिवालयले जनाएको छ
शपथ ग्रहणका लागि उपस्थित हुन प्रतिनिधि सभाका सदस्यहरूलाई सचिवालयले यस अघिनै सुचना जारी गर्दै आग्रह गरेको थियो।
जारी सूचनामा निर्वाचित सदस्यहरूलाई शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुन भनिएको थियो।



