काठमाडौँ। यही चैत १३ गते नेपालको नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पद तथा गोपनियताको शपथग्रहण गर्दैछन्। उनको शपथका लागि भब्य तयारी गरिएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शाहको शपथका लागि शुक्रबार मध्यान्ह १२ बजेर ३४ मिनेटको समय तय भएकाे छ। शपथका लागि वटुकदेखि लामा गुरुसम्मको ब्यवस्थापन गरिएको छ।
बालेनको प्रधानमन्त्रीको शपथमा १०८ जना वटुकमार्फत स्वस्ति वाचन गराइँदै छ भने १६ जना लामा गुरुहरुबाट अष्ट मंगल पाठ गराइँदै छ। यस्तै शपथग्रहणमा ७ जना ब्राह्मणले शंखनाद गर्ने छन्। उनको शपथलाई धार्मिक तथा सांस्कृतिक रूपमासमेत भब्य बनाइने भएको हो।



