बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

नेपालमा क्षयरोग : ४२ प्रतिशत रोगी उपचार बाहिरै, लक्ष्य प्राप्तिमा चुनौतीनै चुनौती

नेपालमा क्षयरोग : ४२ प्रतिशत रोगी उपचार बाहिरै, लक्ष्य प्राप्तिमा चुनौतीनै चुनौती

images
२०८२ चैत्र १० गते, मंगलवार
२०८२ चैत्र १० गते, मंगलवार
  • काठमाडौँ। नेपालमा क्षयरोगको अवस्था भयावह रुपमा बढ्दो छ। नेपालबाट अबको नौ वर्षमा क्षयरोग महामारी अन्त्यगर्ने लक्ष्य छ, तर ४२ प्रतिशत हाराहारी रोगीहरु अझै उपचारको पहुँचमा छैनन्। यो संख्या घटाउँदै सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य कसरी होला? र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य पूरा होला? अहिले यो प्रश्न लुप्त छ। वार्षिक रुपमा थपिने क्षयरोगीको संख्या र मृत्युको संख्याको बारे मात्र चर्चा हुने गर्छ।

    images

    सन्दर्भ आज विश्व क्षयरोग दिवस हो। वार्षिक रुपमा मार्च २४ लाई क्षयरोग दिवसका रुपमा मनाइन्छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार नेपालमा वार्षिक करिब ६९ हजार मानिस क्षयरोगबाट प्रभावित हुने गरेका छन्। तीमध्ये करिब १६ हजार जनाको हरेक वर्ष मृत्यु हुने अनुमान छ। यो संख्या दैनिक ४४ जना हुन आउँछ।

    images

    डा. पौडेलले गत आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार १५१ जना क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याइएको जानकारी दिए। उपचारमा आएकामध्ये करिब ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र करिब ५.६ प्रतिशत बालबालिका छन्।

    यो संख्यालाई आधार मान्दा उपचारको पहुँचमा नआउने वा उपचार नै गर्न नचाहनेको संख्या ठुलो देखिन्छ। माथिकै संख्यालाई आधार मान्ने हो भने पनि वार्षिक ६९ हजार क्षयरोगी थपिंदा उपचारको दायरा भन्दा बाहिर २९ हजार ८४९ जना रहन्छन्। 

    निर्देशक डा. पौडेलकाअनुसार क्षयरोग न्यूनीकरण कार्यक्रम मार्फत दैनिक हुने मृत्युको संख्या घटाउन केन्द्रले जोड दिइरहेको छ। तर वजेट/स्रोतको अभावका कारण केन्द्रले चाहेजती काम गर्न नसकेको उनी स्वीकार्छन।

    केन्द्रका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ। क्षयरोग लागेकाहरु खुलेर उपचारमा नआउने हुँदा समस्या हुने गरेको अर्को कारण हो। आर्थिक भारको डर पनि बिरामीमा देखिने गरेको पाइन्छ।

    तर केन्द्रले लुकेर बसेकाहरुलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास गरिरहेको छ। त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ।

    उपचारको दायरामा आएका बिरामीमध्ये ७२ प्रतिशतलाई फोक्सो सम्वन्धी क्षयरोग, २८ प्रतिशतलाई फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोग थियो। यस्तै औषधी प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना पहिचान भएका थिए।

    क्षयरोग केन्द्रका अनुसार गतवर्षमा उपचारमा ल्याइएका बिरामीमध्ये औषधी संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधी प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफल भएको थियो।

    क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको छ। यसले लक्ष्यप्राप्तीमा समस्या सिर्जना गरेको हो।

    उपचार गरे निको हुन्छ 

    रोग लाग्नेको संख्या बढ्दो देखिएपनि उपचारमा जानेहरुको रोग निको हुने दर पनि नेपालमा उच्च छ। औषधि सेवन गरेर क्षयरोग लागेपछि पुर्ण रुपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशत भन्दा माथि रहेको केन्द्रका चिकित्सक डा नविनप्रकाश साहले जानकारी दिए। 

    डा साह पनि ठूलो संख्यामा बिरामीहरु उपचारमा नआउदा समस्या बढेको बताउँछन। यो अवस्थालाई रोक्न नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको उनी बताउँछन।

    `उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँनयाँ विधिहरु थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ,’ डा साहले भने।

    क्षयरोग लागेपछि पुर्णरुपमा निको पार्न ६ महिना नियमित औषधि सेवन गर्नु पर्ने उनी बताउँछन। यस्तै क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट बच्न सकिने उनको भनाइ छ।

    उपचार गर्न कहाँ जाने?

    नेपालभरी क्षयरोग उपचारका लागि ६ हजार २४१ स्वास्थ्य संस्थाहरु र निदानका सेवाहरु ८ सय स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन।

    केन्द्रका अनुसार ७८५ संस्थामा माइक्रोस्कोपी सेवा, १४२ वटा संस्थामा द्रुत परीक्षण सेवा निशुल्क रुपमा सञ्चालन गरिएको छ। औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छ। यस्तै १४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार भएको छ।

    सरकारले आधुनिक प्रविधिबाट द्रुत रुपमा खकार परीक्षण गर्दै क्षयरोगको उपचार र औषधि नि:शुल्क रुपमा प्रदान गर्दै आएको छ। चिकित्सकको सल्लाह अनुसार नियमीत औषधि खाएमा क्षयरोग निको हुने गरेको छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी भएको अनुमान थियो। जसको दर प्रति एक लाख जनसंख्यामा २२७ रहेको थियो। मृत्यु दर प्रति एक लाखमा ५३ जना रहेको थियो।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई स्रोतको आधार मानि सार्वजनिक गरिएको विवरणमा सन् २०२३ मा विश्वभर १ करोड ६ लाख मानिस क्षयरोगबाट संक्रमित भएका थिए भने १३ लाखभन्दा बढीको मृत्यु भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend