भक्तपुर। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले चाँगुनारायण नगरपालिकावासीलाई सम्पूर्ण उपचार शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ।
आईतवार भक्तपुरको चाँगुनारायणस्थित काठमाडौँ मेडिकल कलेज पव्लिक लिमिटेड अस्पताल युनिट–२ दुवाकोटको उद्घाटनका अवसरमा मेडिकल कलेजका प्रबन्ध निर्देशक सुनिल शर्माले त्यस्तो सुविधा दिने घोषणा गरे।
अस्पताको बिशिष्टिकृत सेवा शुभारम्भको अवसर पारेर भक्तपुरको चाँगुनारायण नगरपालिकावासीलाई सबैखाले सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको बताउँदै प्रबन्ध निर्देशक शर्माले अस्पतालमा मुटु र मस्तिष्कका जटिल शल्यक्रियासमेत हुने जानकारी दिए।
अस्पतालले दुवाकोटमा शैक्षिक कार्यक्रमतर्फ चिकित्सा, नर्सिङ, डेण्टललगायतको कोर्ष सञ्चालन गर्दै आइरहेकोमा अहिले करिव डेढ अर्व रुपौंया लगानी थपेर बिशिष्टकृत अस्पतान बनाइएको शर्माको भनाई थियो ।
अस्पताल उद्घाटनका अवसरमा अस्पताल व्यवस्थापन र चाँगुनारायण नगरपालिकाबीच सम्भौता नै गरेर त्यस्तो सुविधा दिने व्यवस्था गरिएको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए।
प्रमुख खत्रीका अनुसार, अस्पतालले स्थानीयवासीको परिचयपत्र खुल्ने कुनै पनि परिचयपत्र लिएर अस्पतालमा सञ्चालित सेवाहरूमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने सहमति गरेको छ।
यस्तो सहमतिसँगै यसक्षेत्रका करिव ५० हजारबढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने चाँगुनारायण नगरपालिका वडा नं २ का वडाध्यक्ष सोम प्रधानले बताए। दुई वर्षदेखि आफुले पहल गर्दै आएपनि आजदेखि सुविधा पाउँन सकेकोमा प्रधानले खुसी व्यक्त गरे।
आजदेखि सामान्य बिरामी पर्दासमेत उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको प्रधानको भनाई छ।
नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य सेवा एवं सुविधामध्येको सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न नागरिक, ज्येष्ठ नागरिक र औषधि उपचार कोषमा आवद्ध भएकाको हकमा सरकारले उपलब्ध गराएको सुविधा लिएपछि मात्रै अस्पतालले दिने छुट सेवा पाइने र अन्यको हकमा भने सुरुबाटै २५ प्रतिशत छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ।
त्यसका अलवा अस्पताले विपन्न वर्गका एक सयजनालाई सबै शुल्क मिनाह गरी उपचार गर्ने भएको छ भने स्थानीय वडाअध्यक्षको सिफारिसमा ५० जनालाई ५० प्रतिशतसम्म छुटमा उपचार गर्ने सहमति भएको छ।
काठमाडौ मेडिकल कलेज र नोवेल मेडिकल कलेज सञ्चालन गर्दै आएको पव्लिक लिमिटेडले अत्याधुनिक उपकरण राखेर मुटुदेखि मस्तिष्क सम्मको जटिल शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ। यतिसम्मकी मस्तिष्क र मुटुका सम्पूर्ण पार्टपुर्जा खोलेर हामी यहि अस्पतालमा उपचार गर्ने दावी प्रबन्ध सञ्चालक शर्माले गरेका छन्। शर्माले थपे, ‘अब हामी मृगौला दिने र लिनेको एकैपटक शल्यक्रिया गरेर मृगौला प्रत्यारोपण गछौं।‘
बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र पर्यटन मन्त्री शुरेस श्रेष्ठले भक्तपुरमा मुटु र मस्तिष्कको बिशिष्टिकृत सेवा सहितको अस्पताल सञ्चालनमा आएसँगै उपचार नपाएर बाटोमा अस्पताल लग्दा लग्दै मृत्यु हुने समस्या समाधान भएको बताए।




