काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो दलको पराजयको कारण पार्टी भित्रको चरम गुटबन्दी देखि गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणामलाई देखाएको छ।
कांग्रेसले शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आज समापन गर्दै प्रतिनिधि सभाको निर्वाचनमा भएको हारको प्रारम्भिक समीक्षा गरेको हो। जसअनुसार पाँच कारण पार्टीले पराजय भोग्नु परेको कांग्रेसको निष्कर्ष छ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। जस अनुसार कांग्रेस हारको कारण पार्टी भित्रको चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनुलाई मानिएको छ।
यसैगरी गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु, विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत ) का कारण जनआक्रोश बढ्नु, जेन–जेड युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु र डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुग्नुलाई कांग्रेसले पार्टीको पराजयको कारण देखाएको छ।
यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको बैठकले कांग्रेस बैठकले ठहर गरेको छ।
बैठकले विशेष महाधिवेशन पश्चात् गठन भएको नयाँ नेतृत्वलाई सीमित समयावधि (करिब ५० दिन) भित्र यी सबै चुनौतीहरू समाधान गर्न कठिन भएको निष्कर्ष निकालेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए।
कांग्रेसले बैठकमार्फत निर्वाचन परिणामलाई लिएर जिल्ला र निर्वाचन क्षेत्रवाट पनि प्रतिवेदन पठाउन भनेको छ। प्रारम्भिक समिक्षा र जिल्लाबाट आएको प्रतिवेदनलाई एकिकृत गरि पून: समिक्षा गर्ने कांग्रेसले भनेको छ।
बैठकले निर्वाचन परिणामको प्रारम्भिक समीक्षा, परीमार्जन सहित पारीतसमेत गरेको कांग्रेसले जनाएको छ।



