काठमाडौँ। सरकारले अबदेखि राष्ट्रिय परिचयपत्र बनाउँदा प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने (प्रिइनरोलमेन्ट फाराम भर्नु पर्ने) व्यवस्था हटाएको छ। तर पहिले नै नागरिकता बनाइसकेकाहरुका लागि भने यो ब्यवस्था तत्काल लागू हुने छैन।
यसअघि राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीहरूले पहिले छुट्टै आवेदन फाराम भर्नु ब्यवस्था थियो। तर अब सेवाग्राहीले नयाँ नागरिकता बनाउँदा नागरिकता नम्बरकै आधारमा सिधै बायोमेट्रिक दिन पाउने छन्। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट आइतबारबाट यो सेवाको सुरुवात गरेको हो।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयबाट यो सेवाको सुरुवात गरेका हुन्। उनले दोहोरो प्रक्रिया हटाएर सरकारले सेवाग्राहीलाई सरल रुपमा सेवा दिने नीति अघि बढाएको र ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट यो सेवा पाइने बताए।
यसले सेवा प्रवाहलाई सरल, छरितो तथा नागरिकमैत्री बनाएको मन्त्री अर्यालको भनाइ छ। सो अवसरमा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्ने पहिलो नागरिकलाई राष्ट्रिय परिचयपत्रसमेत प्रदान गरिएको छ। गृहमन्त्री अर्यालले सो परिचयपत्र हस्तान्तरण गरेका हुन्।
केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तर–आबद्धता भएपछि यस्तो सुविधा सुरु गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
`यो सेवा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सिसिएमआइएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (इनआइडीएमआईएस) बीच एपिआईमार्फत गरिएको अन्तर–आबद्धताबाट सम्भव भएको हो, यसले सेवालाई सहज र सरल बनाउने अपेक्षा गरेका छौं।´ गृह प्रवक्ता काफ्लेले एक्सरे नेपालसँग भने।
नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता केन्द्रमा नागरिकको ११ अंकको नागरिकता नम्बर प्रविष्ट गरेपछि सम्बन्धित नागरिकका विवरण स्वतः सिसिएमआइएस बाट एनआइडीउमआइएसमा प्राप्त भई औँठाछाप, आँखा (आइरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सम्पन्न गरिन्छ।
गृह मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले सेवा प्रवाह छिटो, खर्च घटाउने र सुशासन कायम गर्न सहयोग पुग्नेछ। हाल दैनिक ६ देखि ८ हजार राष्ट्रिय परिचयपत्र बनिरहेका छन्।
यस प्रणालीमार्फत ठूलो संख्यामा नागरिकले नागरिकता प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्रमा दर्ता हुने सुविधा प्राप्त गर्नेछन्। यसबाट सेवा लिने समय घट्ने, पुनः कार्यालय धाउनुपर्ने अवस्था कम हुने तथा सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नागरिकता लिइसकेकाले भने फाराम भर्नै पर्ने
यसैबीच यस प्रणाली लागू हुनुअघि नै नागरिकता प्राप्त गरिसकेका नागरिकले भने विद्यमान अनलाइन पूर्व–दर्ता प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र दर्ता गर्न सक्नेछन्।
गृह मन्त्रालयका प्रवक्ता काफ्लेले पहिलेनै नागरिकता लिइसकेका ब्यक्तिले भने अनलाइन पूर्व–दर्ता प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रका लागि प्रक्रियामा जान सक्ने जानकारी दिए। उनले पहिलेनै नागरिकता बनाइसकेकाहरुलाई नयाँ प्रणालीमा जोड्न केही समय लाग्ने जानकारी दिएका हुन्।
`सिस्टममा हामीले जोड्ने काम गरिरहेका छौं, अहिले नयाँ नागरिकता लिने ब्यक्तिका हकमा नागरिकता लिएकै दिन राष्ट्रिय परिचयपत्र उपलब्ध हुन्छ, पहिले लिएकाहरुलाई बिस्तारै यो प्रणालीमा जोड्दै जान्छौं।´ प्रवक्ता काफ्लेले जानकारी दिंदै भने।



