बागलुङ। केही समययता दादुरा संक्रमण फैलिएको बागलुङको ढोरपाटन नगरपालिकामा संक्रमितको संख्या कम हुँदै गएको छ। अस्पतालमा भर्ना भएका दादुरा संक्रमित बिरामीसमेत निको भएर धमाधम घर फर्किने थालेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर फरिकेका छन्। जसअनुसार बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएको कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा ११ जना र बोबाङ स्वास्थ्य चौकीमा ४ जनाको उपचार जारी छ। बुर्तिवाङ अस्पतालबाट धौलागिरि प्रादेशिक अस्पताल र पोखरामा रिफर गरिएका पाँच बिरामीमध्ये चार जना सफल उपचारपछि घर फर्किएको उनले जानकारी दिए।
‘‘अहिलेसम्म ८३ जना दादुरा संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्, घर फर्किएकामा सामान्य देखि जटिल समस्या देखिएकाहरु छन।’’ घिमिरेले भने।
उनका अनुसार जटिल समस्या देखिएका बिरामीहरुमा नाकबाट रगत बग्ने सम्मको समस्या देखिएको थियो। यस्तै केही बिरामीहरूमा पखाला लाग्ने तथा निमोनियाको समस्या समेत थियो। समयमै उपचारहुँदा उनीहरू जोखिममुक्त हुँदै निको भएर घर फर्किएका हुन्।
ढोरपाटन नगरपालिका वडा ७ बोबाङ, वडा ८ सेराबाङ र वडा नं. ९ लाकुरीबोटमा दादुरा सङ्क्रमण फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलन बनाएर बिरामीको सघन उपचार गरिएको थियो।
झण्डै तीन सातासम्म दादुराको सङ्क्रमण फैलिँदा ढोरपाटनका १ सय ४१ जना ६ महिने शिशुदेखि ४८ वर्ष उमेर समूहमा दादुरा सङ्क्रमण देखिएको थियो। दादुरा फैलिएपछि अहिलेसम्म ढोरपाटन नगरका १० वर्षदेखि १९ वर्षसम्मका ५ हजार ९ सय १३ जना बालबालिका तथा किशोर किशोरीलाई दादुराविरुद्वको खोप लगाइएको छ।
छुटेकाहरुलाई अहिले विश्व स्वास्थ्य सङ्गठनको टोलीले समुदायमा नै पुगेर खोजी गर्दै खोप लगाउने काम गरिरहेको छ।



