वीरगंज। वीरगंजस्थित रक्त सञ्चार केन्द्रमा पछिल्लो समय रगतको चरम अभाव भएको छ। रगतको अभव हुँदा बिरामी मारमा परेका छन्।
रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ पाण्डेका अनुसार स्टोरमा प्रायः सबै ग्रुपको रगत सकिएको छ।
`अस्पतालहरुमा बिरामीको संख्या बढ्दै गएको छ, विभिन्न जटिल शल्यक्रिया, आकस्मिक दुर्घटना तथा दीर्घरोगीहरूको उपचारका लागि रगतको माग उच्च रहेको अवस्था छ, तर पर्याप्त रक्तदाताको अभाव हुँदा स्टोरमा प्रायः सबै ग्रुपको रगत सकिएको छ।´ रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख पाण्डेले भने।
नारायणी अस्पताललगायत वीरगंजका दर्जनौँ अस्पतालमा दैनिक आउने बिरामीहरूलाई आवश्यक पर्ने रगत वीरगंज केन्द्रबाट नै आपूर्ति हुँदै आइरहेको छ। तर केन्द्रमै रगत अभाव भएपछि आकस्मिक सेवाहरू समेत प्रभावित हुन सक्ने अवस्था देखिएको छ।
विशेषगरी दुर्घटनामा घाइते भएका बिरामी, सुत्केरी महिलाहरू, क्यान्सर तथा मिर्गौला रोगीहरूका लागि तुरुन्त रगत आवश्यक पर्ने अवस्था आउने भएकाले यस्तो अभावले उपचार प्रक्रियामा ढिलाइ मात्र होइन, ज्यान नै जोखिममा पार्न सक्ने अवस्था सिर्जना हुन सक्ने चिकित्सकहरूको भनाइ छ।
रक्त सञ्चार केन्द्रले पर्याप्त रगत भण्डारण गर्न नसक्दा बिरामीका आफन्तहरू आफैँ रक्तदाता खोज्न बाध्य हुने अवस्था बढ्दै गएको छ। जसले उपचार प्रक्रियालाई झनै जटिल बनाउने गरेको छ। आकस्मिक अवस्थामा तत्काल रगत उपलब्ध नहुँदा अस्पतालहरूमा तनावपूर्ण स्थिति सिर्जना हुने गरेको अनुभव स्वास्थ्यकर्मीहरूले सुनाएका छन्।
रक्तदान कार्यक्रम आयोजना हुँदै
यस्तो गम्भीर अवस्थालाई मध्यनजर गर्दै गहवा माईस्थान संचालक समितिले रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
माईस्थान मन्दिर प्राङ्गनमा यही चैत्र ११ गते विहान ७ बजे देखि सञ्चालन हुने उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले रक्तदान जस्तो मानवीय कार्यमा सबैले जिम्मेवारी बोध गर्दै सहभागिता जनाउनुपर्ने बताउँदै, यसले थुप्रै बिरामीहरूको ज्यान जोगाउन सक्ने उल्लेख गरे।
स्वास्थ्य सेवा प्रणालीको आधारभूत आवश्यकतामध्ये एक मानिने रगत आपूर्तिमा देखिएको यस्तो संकटले सामाजिक उत्तरदायित्वको आवश्यकता झनै उजागर गरेको छ।
नियमित रूपमा रक्तदान गर्ने संस्कृतिको विकास नभएसम्म यस्ता समस्या दोहोरिने सम्भावना रहने भएकाले सम्बन्धित निकाय, सामाजिक संस्था र सर्वसाधारणबीच सहकार्य अपरिहार्य देखिएको छ।



