काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह चैत्र १३ गते प्रधानमन्त्री नियुक्त हुने भएका छन्।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार चैत्र १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ।रास्वपा सभापति रबि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र वाग्लेबीच बिहीबार यो विषयमा छलफल भएको थियो।
निर्वाचन आयोगले राष्ट्रपति समक्ष निर्वाचनको प्रतिवेदन बुझाएसँगै प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अधि बढ्ने भएको हो। त्यस अघि प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुने छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने र ज्येष्ठ सदस्यले सांसदहरुलाई शपथ गराउने कानुनी व्यवस्था छ। सांसद सचिवालयले प्रतिनिधि सभा सदस्यको सपथका लागि चैत्र १२ गतेका लागि तयारी गरिरहेको छ।
सपथ भएपछि चैत्र १३ गते प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउने गरी रास्वपाले आन्तरिक छलफल र तयारी गरेको हो।
नेपालको संविधानको धारा, ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ। धारा, ७६ को उपधारा (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ भन्ने उल्लेख छ। यसपटक रास्वपाले बहुमत प्राप्त गरेकाले उपधारा (१) अनुसार सरकार बन्ने छ।
राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा होमिएको थियो। प्रधानमन्त्रीमा नियुक्त हुन प्रतिनिधिसभा सदस्य र संसदीय दलको नेता हुनुपर्ने संवैधानिक बाध्यता छ। वरिष्ठ नेता शाहलाई संसदीय दलको नेताका अघि सार्ने रास्वपाको तयारी छ।
निर्वाचन सम्पन्न भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ।



