काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सभापति गगन थापाको राजीनामाको विपक्षमा उभिएका छन्।
उपसभापति शर्माले बिहीबार साँझ सामाजिक संजाल एक्स मार्फत सभापति थापाले पदबाट दिएको राजीनामाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, `नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक। तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो। बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ।´
शर्माले अगाडी लेखेका छन्, `डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन! जय नेपाल!´
थापाले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि आज बिहान पदबाट राजीनामा दिएका थिए। उनको राजीनामाको विषयमा सकारात्मक तथा नकारात्मक दुबै कोणबाट चर्चा भइरहेको छ।
कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ १८ र समानुपातिकमा २० गरी कुल ३८ सिटमा जित हात पारेको थियो।



