काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलि चैत्र ६ गते शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको बताएको छ।
महाशाखाले शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको बताएको हो।
साथै, शुक्रबारदेखि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११० किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले प्रि-मनसुनको अवधि पनि रहेकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन सक्ने बताएको छ।
`उल्लेखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन हुन, विशेष काम नपरी यात्रामा ननिस्कन हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्ररी बन्द गर्न हुन, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकिएर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नअत्तालिन, भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।´ प्राधिकरणका उपसचिव रामबहादुर केसीद्वारा जारी सतर्कता सम्बन्धि अनुरोधमा भनिएको छ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न हुन, बिजुलीको तार चुँडिएको छ भने नछुनु हुन, सो समयमा विद्युतिय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्न हुन पनि प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेको छ।




