बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि ५ हजार ६ सय ५६ जनालाई लगाइयो खोप लगाइएको छ।
दादुरा संक्रमण नियन्त्रका लागि भन्दै नगरपालिकाका नौ वटै वडाका बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको हो। नौ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय ५६ जनालाई खोप लगाइएको हो।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा दादुरा सङ्क्रमित फेला परेपछि खोप अभियान सुरु गरिएको थियो। गत फागुन २९ गतेदेखि चैत १ गतेसम्म खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार खोप छुटेकालाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट दिइने छ। छुटेका बालबालिका र किशोर किशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने छ।
“ढोरपाटनका नौ वटै वडाका अधिकांश बालबालिका र किशोर किशोरीलाई खोप लगाइसकेका छौँ, अब बाँकी छुटपुटलाई पनि स्वास्थ्य संस्था र बुर्तिबाङ अस्पतालबाट दिइनेछ। खोप लगाएपछि सङ्क्रमण नियन्त्रणमा आउने अपेक्षा छ।” घिमिरेले भने।
सङ्क्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन र प्रदेश जनस्वास्थ्य कार्यालयको समूह ढोरपाटनमा खटिएको उनको भनाइ छ। हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको जनाउँदै उनले १ सय तीन जना शङ्कास्पद बिरामी रहेका बताए।
२१ जनाको नमुना परीक्षणका राष्ट्रिय स्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइएको घिमिरेले जानकारी दिए। उनका अनुसार बुर्तिबाङ अस्पतालमा २४ जना र बोबाङ स्वास्थ्यचौकीमा छ उपचाररत छन्।
गाउँभरि दादुरा सङ्क्रमण फैलिएपछि बन्द भएका नगरपालिकाका विद्यालय अहिले सञ्चालनमा आएका छन्। सङ्क्रमण कम हुन थालेपछि करिब दुई सातापछि विद्यालय सञ्चालन गरिएको हो। यस क्षेत्रका करिब आधा दर्जन विद्यालय बन्द गरिएको थियो।
दादुरा सङ्क्रमितको उपचार र गाउँका अन्य बालबालिकालाई खोप लगाएपछि विद्यालय सञ्चालन गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य प्रमुख भूमिश्वार शर्माले जानकारी दिए। गत फागुन २१ गते बोबाङ गाउँका केही बालबालिकामा लक्षण देखिएपछि राष्ट्रिय प्रयोगशालामा नमुना परीक्षणका लागि पठाइएको थियो।



